२०८२ जेष्ठ २६

बुटवलमा समावेशी पत्रकारिता क्षमता विकास तालिम सुरु
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ २५, आईतवार १३:४१ गते

बुटवल, २५ जेठ ।
बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सुरु भएको छ ।
प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा सञ्चालन हुने तालिमको आइतबाट बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले उपमहानगरले मिडिया प्रर्वद्धको क्षेत्रमा काम गरिरहेको बताए । उनले सञ्चार क्षेत्रले नगरको सकारात्मक कार्यका सकारात्मक सन्देश प्रवाह गर्न र नकारात्मक कमजोरीको निरन्तर खबरदारी गर्न आग्रह गरे ।
उनले आफुहरु निर्वाचित भएपछि सञ्चार क्षेत्रसंग निरन्तर सहयात्रा गर्दै आइरहको बताए । पछिल्लो समय सञ्चारकर्मीहरु सामाजिक सञ्जाल केन्द्रीत भएको उल्लेख गर्दै उनले समाचारमा केन्द्रीत हुन सुझाब दिए । नगरपालिकाले सबै जात, जाति, भाषा र धार्मिक समुदायको हितलाई केन्द्रमा राखेर काम गरेको प्रमुख पाण्डेको भनाइ छ । बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले बुटवलको विकासमा पत्रकारहरुको सकारात्मक साथ र सहयोग रहेको बताइन । उनले नगरपालिकाले समावेशीताको सवालमा विभिन्न कामहरु गर्दै आइरहेको बताउँदै काम गर्ने क्रममा कुनै पक्ष छुटेको भए आगामी दिनमा सच्याएर अघि वढ्ने प्रतिवद्धता जनाइन ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारहरुले राज्यका निकायहरुको निगरानी र खबरदारी गर्ने पेशागत दायित्व भुल्न नहुने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष राम प्रसाद आचार्य, प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य सरु राना, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे,अग्रज पत्रकार मदनलाल पौडेल र सञ्चारिका समुह रुपन्देही अध्यक्ष मिना ढकालले बोल्दै पत्रकारहरु हरेक दिन अपडेट हुनु पर्ने भएका कारण क्षमता अभिवृद्धि जस्ता तालिमहरु आवश्यक रहेको बताए ।