२०८२ जेष्ठ २६

बुटवलमा अटिजम सम्बन्धी सचेतना कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ २६, सोमबार १०:३७ गते

बुटवल २६ जेठ ।
शहीद स्मृति प्रतिष्ठान नेपाल, रूपन्देहीले सोमबार बुटवलमा अटिजम (स्वास्थ्य) सम्बन्धी एक दिने सचेतना कार्यक्रम गरेको छ । शिक्षक र अभिभावकलाई अटिजम समस्याको बारेमा सचेत गराउने उद्देश्यसहित प्रतिष्ठानले सचेतनामूलक कार्यक्रम गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले अटिजमबारे हरेक अभिभावक र शिक्षकहरु सचेत हुनुपर्ने बताए । पछिल्लो समय अटिजमको समस्या बढदै गइरहेको बताउँदै उनले अटिजम भएका विद्यार्थीहरुका लागि बुटवल उपमहानगरपालिकाले भवन बनाउने प्रक्रिया अघि बढाएको बताए । ‘अटिजमको पीडा अभिभावकलाई मात्र थाहा छ’ मेयर पाण्डेयले भने, ‘भवन बनाउन जग्गा प्राप्तीको प्रक्रिया अघि बढेको छ ।’
सामाजिक क्षेत्र र शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई उपमहानगरपालिकाले प्राथामिकता दिएको मेयर पाण्डेयको भनाइ छ ।
कार्यक्रममा प्रशिक्षण दिदै वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर सन्तोष पोखरेल, प्रशिक्षकहरु मलिका घिमिरे र अनिशा बस्यालले अटिजमका बारेमा जानाकारी गराएका थिए ।

शहीद स्मृति प्रतिष्ठान नेपाल, रूपन्देहीका अध्यक्ष हरिप्रसाद घिमिरले प्रतिष्ठानले सामाजिक क्षेत्रमा रचनात्मक कामलाई निरन्तरता दिने क्रममा अटिजम सम्वन्धी कार्यक्रम गरेको बताए । उनले कार्यक्रम मार्फत अटिजम सम्बन्धमा शिक्षकहरुमा सन्देश प्रवाह भएको भन्दै यसले विद्यालय तहबाट शिक्षकहरु मार्फत धेरैमा सन्देश प्रवाह गर्न मद्दत मिल्ने बताए । बुटवल उपमहानगरपालिकाको सहयोग, प्रतिष्ठानका अध्यक्ष घिमिरेको अध्यक्षता, कार्यक्रम संयोजक चेतनारायण भण्डारीको स्वागत तथा सचिव दामोदर घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो । सचेतना कार्यक्रममा बुटवलका विभिन्न विद्यालयका शिक्षकदेखि अभिभावक, सरोकारवाला सहभागी थिए । कार्यक्रममा सहभागिहरुले अटिजम सम्वन्धी विभिन्न जिज्ञाशा समेत राखेका थिए ।