२०८२ जेष्ठ ३०

बुटवलमा विकास पत्रकारिता तालिम
  • लुम्बिनी खोज
  • २०८२ जेष्ठ २८, बुधबार १२:०७ गते

बुटवल, २८ जेठ ।
रुपन्देहीको बुटवलका दुई दिने विकास पत्रकारिता तालिम सुरु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिममा रुपन्देहीमा क्रियाशिल छापा तथा विद्युतीय संचार माध्यममा काम गर्ने झण्डै डेढसय संचारकर्मीहरुको सहभागिता रहेको नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी दिए । युनियनमा आवद्ध संचारकर्मीको क्षमता विकासकालागि नियमित रुपमा क्षमता विकास कार्यक्रम गर्दै आएको उनले बताए ।

। तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले गरेका सकारात्मक प्रयास तथा आलोचनात्मक विषयका बारेमा कुरा उठाउन संचारकर्मीहरुसँग आग्रह गरे । उनले नगरले गरेका विकास निर्माण तथा भौतिक प्रगतिका गतिविधिसँगै भएगरेका प्रशासनीक कार्य र भएका ढिलासुस्ती तथा गुणस्तरीय सेवाका बारेमा पनि समाचार लेख्न आग्रह गरे ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले गरिव, विपन्न, असहाय र अल्पसंख्यकका विषयमा समाचार लेख्न आवश्यक रहेको धारणा राखिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष एवं प्रमुख प्रशिक्षक विपुल पोखरेलले साइबर कानुनको आडमा पत्रकार तर्साउन खोज्नु आपत्ती जनक भएको बताए । उनले पत्रकारलाइ समाचार लेखेकै भरमा साइबर कानुन लगाउने र समाचार डिलिट गर्न लगाउनु संविधान बिपरित हुने बताए । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, युनियनका केन्द्रीय सदस्य रेखा भुसाल, संस्थापक अध्यक्ष बालनरसिंह गुरुङ, महासंघका प्रदेश उपाध्यक्ष आरपी आचार्य, महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, प्रेस चौतारीका अध्यक्ष भगवती पाण्डे, समाजवादी प्रेस संगठनका अध्यक्ष विनोद परियार, युनियनका उपाध्यक्ष कल्पना तिवारीलगायतले विकास पत्रकारिताको विटमा कलम चलाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै पत्रकारिताको विकासकालागि निरन्तर, सिकाई हुन आवश्यक रहेको बताए ।
दुई दिनसम्म चल्ने विकास पत्रकारिता तालिममा नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोखरेल, महासंघका केन्द्रिय सदस्य तथा युनियनका पुर्व अध्यक्ष रामराज पोखरेल, युनियनका सल्लाहकार माधव नेपाल, पुर्व अध्यक्ष छवी पाण्डे, हरिष ढकाल, भवानीप्रसाद पाण्डे, विक्रम खड्का, रेखा भुसाल, लगायतले आआफ्ना पत्रकारिताका अनुभव शेयरिङसँगै सहजिकरण गर्ने सचिव कपिल ज्ञवालीले जानकारी दिए ।