२०८२ असार १७

तिलोत्तमा नगरपालिकाको दुई अर्ब ९२ करोडको बजेट
  • लुम्बिनी खोज
  • २०८२ असार ९, सोमबार १४:०१ गते

शिक्षा, स्वास्थ्य, पूर्वाधारमा प्राथमिकता
बुटवल ९ असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैैंयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले सोमबार आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट प्रस्तुत गरेकी छिन् ।
दोस्रो नगरसभाको सातौं अधिवेशनको तेस्रो बैठकमा प्रस्तुत बजेटमा चालु तर्फ १ अर्ब २९ करोड ४० लाख ७२ हजार अर्थात् ४४ दशमलव १७ प्रतिशत र पूँजीगत तर्फ १ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५ सय ८२ रुपैंयाँ अर्थात् ५५ दशमलव ८३ प्रतिशत बजेट विनियोजन गरिएको छ । बजेट वक्तव्यमा उपप्रमुख चौधरीले बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ३३ करोड र अन्तर सरकारी वित्तीय हस्तान्तरण तथा बचतबाट २ अर्ब ५९ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैंयाँ प्राप्त हुने लक्ष्य लिइएको उल्लेख गरिन ।
तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा १६ करोड बढीको बजेट ल्याएको हो । उपप्रमुख चौधरीले बजेटले शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको परिमाणात्मक र गुणात्मक अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधार, उद्यमशीलता, रोजगारी, समन्यायिक विकासलाई प्राथमिकतामा राखेको उल्लेख गरिन । बजेटमा शिक्षा, स्वास्थ्य लगायत सामाजिक विकास क्षेत्रमा ९९ करोड ४२ लाख ५२ हजार ५ सय २ बिनियोजन गरिएको छ भने आर्थिक विकास क्षेत्रमा ६ करोड १९ लाख ५० हजार विनियोजन गरिएको छ । एक वडा ः एक किलोमिटर सडक निर्माणका लागि १५ करोड, तिलोत्तमा बहुउद्देश्यीय भ्यू टावरको निर्माण सम्पन्न र सञ्चालन गर्न १ करोड, सिटी कलेज सञ्चालनको लागि ५० लाख, केउलानीमा रहेको हलमा स्किल टे«निङ्ग सेन्टर स्थापनको लागि २५ लाख विनियोजन गरिएको छ । यस्तै वडा नं. २, ७ र १५ को वडा भवन निर्माण गर्न ३ करोड, वडा कार्यालय बाउन्ड्री वाल, सभाहल लगायतका संरचना सम्पन्न गर्न २ करोड, सडकको मर्मत सम्भार गर्ने कार्यको लागि पूर्वाधार एम्बुलेन्स तथा मेशिनरी औजार खरिद गर्न २ करोड गरी समग्रमा पूर्वाधार विकास क्षेत्रमा ९७ करोड ५ लाख ३९ हजार विनियोजन गरिएको छ ।
नगरपालिकामा कार्यरत करार कर्मचारी र नगर प्रहरी समेतलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न १ करोड ५० लाखसहित समग्रमा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ५१ करोड ७३ लाख ५८ हजार विनियोजन गरिएको छ । नगरक्षेत्र भित्रका आकश्मिक भैपरी आउने अत्यावश्यक भौतिक पूर्वाधार विकास र अन्य विकास सम्बन्धी कार्यका लागि आकश्मिक पूर्वाधार कोषबाट सम्बोधन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । बजेटको प्रभावकारी कार्यान्वयनमा आमनगरबासी र सरोकारवाला सम्पूर्णबाट रचनात्मक सहयोगको अपेक्षा राखिएको उपप्रमुख चौधरीले बताइन् ।
गत असार ५ गते नगर प्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको हो । नगर उपप्रमुख चौधरीले सोमबारको नगरसभा बैठकमा राजस्व परामर्श समिति संयोजको रुपमा आर्थिक विधयेक २०८२ र विनियोजन विधयेक २०८२ समेत प्रस्तुत गरिन् । उपप्रमुख चौधरीले प्रस्तुत गरेको वार्षिक बजेट, आर्थिक तथा विनियोजन विधयेकमाथि छलफल गर्न सातौं अधिवेशनको चौथो बैठक असार २० गते बोलाइएको छ ।