२०८२ श्रावण ६
बुटवल १० असार ।
रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि १ अर्ब ६३ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार नगरपालिकाको १६ औँ नगर सभामा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले प्रस्तुत गरेको बजेटमा शिक्षा, पूर्वाधार, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण संरक्षण र सुशासनमा विशेष जोड दिइएको छ ।
बजेटमा आयको अनुमान तथा स्रोतमा संघीय सरकारबाट प्राप्त अनुदान पुजीगत तर्फ ४३ करोड ४१ लाख , नगर विकास कोषबाट ऋण ७ करोड ३८ लाख, सडक वोर्ड तर्फ १ करोड, लुम्बिनी प्रदेश बाट प्राप्त समानीकरण, सशर्त, राजश्व वाडफाड, र समपुरक गरी ४ करोड ८९ लाख ७४ हजार, संघीय सरकारबाट प्राप्त सशर्त, सामाजिक सुरक्षा, समपुरक, समानीकरण राजश्व बाडफाड गरी ८५ करोड ३२ लाख ८० हजार रहेको छ ।
त्यस्तै आन्तरिक राजस्वबाट २१ करोड ८६ लाख ४६ हजार रकम उठाउने लक्ष्य राखिएको छ ।
नगर सभामा प्रस्तुत बजेट वक्तव्य प्रस्तुत गर्दै उपप्रमुख गुरुङले संविधान, नीति तथा योजना, स्थानीय आवश्यकता, जनअपेक्षा, समावेशी अभ्यास र दिगो विकासका लक्ष्यलाई मार्गदर्शकका रूपमा लिँदै बजेट निर्माण गरिएको बताइन् ।
उनले बजेट सन्तुलित, समन्वयात्मक र आगामी पुस्तालाई उत्तरदायी हुने ढङ्गले तयार गरिएको बताइन् ।