२०८२ असार १२

राजश्व छलीमा करोडौंको मुद्दा दायर
  • लुम्बिनी खोज
  • २०८२ असार ११, बुधबार १६:१५ गते

बुटवल ११ असार ।
करोडौं राजश्व छलीको अभियोगमा नवलपरासीको नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादवसमेत ४ जना विरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ ।
राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवल मार्फत राजस्व चुहावट सम्बन्धी ‍कसूरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा २० (६) बमोजिम मुद्दा दायर भएको राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विनोद घिमिरेले बताएका छन् ।

रावश्प अनुसन्धान विभागले जारी गरेको विज्ञप्तीमा रामग्राम नगरपालिका, वडा नं ८ स्थित बिक्रेता नवज्योती ट्रेडर्स प्रोप्राइटर यादव र क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायको कारोबार विश्लेषण गर्दा गडबड देखिएको उल्लेख छ । उक्त बिक्रेताले रु.५० लाख भन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिएता पनि करदाता मुल्य अभिवृद्धि करमा दर्ता नभएको र पटकपटक चामलको बिल बनाई अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको देखिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । निज करदाताले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ (संशोधन सहित) को दफा ३ विपरित र दफा ४ को उपदफा क, ख, च र झ बमोजिम कसुर गरेको विभागले जनाएको छ । विभागले जारी गरेको विज्ञप्तीका अनुसार निज प्रतिवादि यादवको हकमा मुल्य अभिवृद्धि कर र भन्सार चोरी पैठारी तर्फको बिगो ३ करोड ४७ लाख ६२ हजार ७ सय ५३ कायम गरी प्रतिवादीबाट बिगो असुल उपर गरी शत प्रतिशत रकम जरिबाना हुन हदैसम्मको कैद सजाय हुन माग गरिएको छ । त्यस्तै प्रतिवादी क्रेता पुष्पा शर्मालाई भन्सार चोरी पैठारी तर्फको ११ लाख ७१ हजार ५ सय बिगो कायम गरी बिगो जफत गरी शत प्रतिशत रकम जरिबाना हुन तथा हदै सम्मको कैद सजाय हुन माग गरिएको छ । त्यस्तै प्रतिवादी हिक्मत प्रसाद आचार्यको हकमा निजले क्रेता पुष्पा शर्मालाई प्रत्यक्ष सघाएको देखिएकोले आधा सजाय मागदावी र प्रतिवादी विनोद थापाको हकमा उक्त राजस्व चुहावटको कसूरमा संलग्नता रहेको पुष्टि भएको भन्दै जरिवाना हुन मागदावी लिई उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको अनुसन्धान कार्यालय बुटवलका प्रमुख घिमिरेले बताए ।