२०८२ भाद्र ८
बुटवल, १ साउन ।
नेपाल ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लि.का शेयरधनी महिलाहरुले साधारण सभाको निर्णय सच्याउन माग गरेका छन् । उनीहरुले शेयर सदस्यहरुलाई साधारण सभामा प्रवेश निषेध गरेर गरिएका निर्णय सच्चाउन माग गर्दै प्रमुख कार्यकारी अधिकृतको ध्यानाकर्षण गराउदै पत्र बुझाएका छन् ।
गत असार २८ गते सम्पन्न दशौं साधारण सभाले गरेको मर्जरको निर्णय खारेजीको माग गर्दै संस्थापक महिला शेयरधनिहरुको एक टोलीले बिहिवार प्रधान कार्यालय बुटवलमा प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाललाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन ।
बिभिन्न खालका जालझेल र छलछाम गरि राष्ट्रिय स्तरको लघुबित्त संस्थालाई ३ जिल्ला कार्यक्षेत्र भएको सानो संस्थासँग मर्ज गर्ने निर्णय तत्काल खारेज गर्न उनीहरुले माग गरेका छन् । शेयरधनी महिलाहरुले सर्लाहीको मलंगवास्थित समाज लघुवित्त वित्तिय संस्था लि.सँग गाभ्ने साधारण सभाको निर्णय उचित कारण नदेखिएको तर्क गरेका छन् ।
ध्यानाकर्षण पत्र बुझाउदै संस्थापक महिला शेयरधनी तथा पुर्व संचालक जमुना ढकालसहितको टोलि गएको थियो । प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले आवश्यक प्रक्रिया पुरा गरेर साधारण सभा गरिएको र शेयर सदस्यहरुलाई प्रवेशमा निषेध नगरेको दावी गर्दै आरोपमा सत्यता नभएको बताए ।
यसअघि असन्तुष्ट शेयरधनी महिलाहरुले नेपाल राष्ट्र बैंक क्षेत्रिय कार्यालय भैरहवाका प्रमुख रमेश अर्याललाई भेटी ध्यानाकर्षण पत्र समेत बुझाएको बताएका छन् ।