२०८२ श्रावण ४
बुटवल ३ असार ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल निर्माण हुने भएको छ । बुटवल उपमहानगरपालिकाले तयार गरेको गुरुयोजना अनुसार करिब ७ रोपनी क्षेत्रफलामा निर्माण हुने सो अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन हलको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) पनि तयार भएको छ । झण्डै ७ करोडको लगानीमा निर्माण सम्पन्न हुने सो आधुनिक र सुबिधा सम्पन्न ब्याडमिन्टन हलको निर्माणपछि बुटवलमा पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु संचालन गर्न सकिने छ ।
डिपिआर पश्चात गणेशटोलमा रहेको सो जग्गाको भोगाधिकारको प्रकृया शुरु भएको र अन्तर्राष्ट्रिय ब्याडमिन्टन हलको लागि आवश्यक जग्गा प्राप्ती पश्चात भौतिक पुर्वाधार निर्माणका काम शुरुहुने तामनगर ब्याडमिन्टन क्लवले जनाएको छ । यसका लागि आवश्यक सम्पुर्ण तयारी पुरा गरि प्रकृया अघि बढाइएको र यसबर्ष नै संघिय सरकारले अन्तर्राष्ट्रिय ब्याडमिन्टन हलका लागि ३ करोड बजेट बिनियोजन गरेको क्लवका अध्यक्ष सुभास कर्माचार्यले बताए ।
आज तामनगरमा आयोजित क्लवको आठौं साधारण सभा तथा चौथो अधिबेशनमा बोल्दै उनले यसअघि पनि बुटवल उपमहानगरपालिका र वडा कार्यालयको सहयोगमा केही पुर्वाधार निर्माणको कामहरु भएको जानकारी गराए ।
साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै वडाध्यक्ष डिल्ली प्रसाद शर्माले बुटवल उपमहानगरपालिका, प्रदेश सरकार, संघिय सरकार सबैको सहयोगबाट यो परियोजना सम्पन्न हुने बिश्वास ब्यक्त गरे ।
प्ुर्व वडाध्यक्ष दुर्गाप्रसाद सुबेदीले सम्पुर्ण वडाबासीका लागि गौरवको योजनाका रुपमा रहेको यो परियोजनालाई सफल बनाउन जुनसुकै परिस्थिती र चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने कुरामा जोड दिए । भुपु सैनिक कल्याणकारी क्लव तामनगरका अध्यक्ष पुरन बहादुर शाहीले यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताउदै सबैलाई सक्रिय भएर लाग्न सुझाव दिए । ब्याडमिन्टन क्लवका पुर्व अध्यक्ष बालकृष्ण पौडेलले परियोजना सफल बनाउन राजनैतिक, सामाजिक, ब्यक्तिगत सबै प्रकारले सहयोग गर्न राजनैतिक दल, समाजसेवी, बुद्धिजिवी, पत्रकार सबैलाई आग्रह गरे । पुर्व अध्यक्ष मधु पुलामीमगरले सबैले तन मन धनले सहयोग गरेर बिगतमा जस्तो बजेट फ्रिज हुने अवस्था नआउने वातावरण बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा क्लवका उपाध्यक्ष बुद्ध गहतराज, सचिव केशव तिवारी, पुर्व सचिव चुरन थापा, कोषाध्यक्ष रामु सुबेदी, सदस्य ढुण्डिराज खनाललगायतले क्लवको स्थापनाको उद्देश्य, यसअवधीमा भएगरेका गतिबिधीहरु र आगामी योजनाका बारेमा चर्चा गरेका थिए । बिसं २०७२ सालमा स्थापना भएको सो क्लवमा २६ जना आजिवन सदस्य र २४ जना साधारण सदस्य गरि कुल ५० जना सदस्य रहेका छन् ।
यसैबिच आज सम्पन्न साधारण सभाले बुटवल १२ का बिभिन्न स्थानमा रहेका ५ वटा क्लवहरुलाई एकैठाउ मर्ज गरेर एउटै बृहत क्लव बनाउने उद्देश्यका साथ ति क्लवहरुसँग संवाद गर्ने र गाभ्ने बिषयमा छलफल गरि टुंगो लगाउने प्रकृया अघि बढाउने निर्णय गरेको छ । सो अवसरमा संस्थालाई प्रत्यक्ष सहयोग गरी योगदान गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो । साथै गतबर्षको एसईई मा उत्कृष्ट नतिजा ल्याउन सफल क्लवका सदस्य परिवारका बिद्यार्थीहरुलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।