२०८२ श्रावण १०
बुटवल ८ साउन ।
लुम्बिनी प्रदेशमा चेतनारायण आचार्य नेतृत्वको सरकारले एक वर्षे पुरा गरेको उपलक्ष्यमा उपलब्धिहरुको विवरण सार्वजनिक गरेको छ । राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गरेका छन् । उनले उपलब्धीका रुपमा सुशासनलाई केन्द्रविन्दुमा राख्दै पाँच वर्षे रणनीतिक योजना तयार पारेको बताए । राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको जिकिर उनले गरेका छन् ।
चालू खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएको जिकिर पनि उनको छ । कर्मचारी व्यवस्थापन, मन्त्रालय र मातहतका कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन र अनुगमनका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ स्थापना गरिएको छ र जसबाट नीतिगत तथा कार्यान्वयन पक्षमा नियमित अनुगमन हुने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
सरकार गठन भएको एक बर्षको अवधिमा प्रदेश सरकारले ७६ बुदे उपलब्धि सार्वजनिक गरेको हो । संघीयताको संस्थागत अभ्यासमा लुम्बिनी प्रदेशले अग्रणी भूमिका खेलेको, सरकार जनताका लागि देखिने, भेटिने र सुनिने बनोस् भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको नीति तथा कार्यक्रमहरूले प्रदेशलाई संघीय अभ्यासको ‘मोडेल’ प्रदेशको रूपमा उभ्याउने प्रयास गरेको सरकारको दावी छ । सरकारले सार्वजनिक गरेको प्रगतिमा आन्तरिक आम्दानी पनि बढाएको उल्लेख गरेको छ । प्रदेश सरकारले आन्तरिक आम्दानी लक्ष्यको जम्मा ५१ दशमलव ६३ प्रतिशत हासिल गरेको छ । सरकारले यसलाई लक्ष्यको तुलनामा प्राप्त प्रगति उत्साहप्रद हुदै गएको जनाएको छ ।
प्रमुख सचिव वावुराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव इश्वरराज पौडेलले एक बर्षे उपलब्धिहरुको विवरण प्रस्तुत गरेका थिए ।
मुख्यमन्त्री ड्यासवोर्ड, किसान एप र अभौतिक सांस्कृतिक सम्पदाको विमोचन
प्रदेश सरकारले मुख्यमन्त्री ड्यासवोर्ड स्थापना गरेको छ । मन्त्रालय र सरकारकार विभिन्न निकाय तथा कार्यालयबाट सम्पादन हुने कामहरुको अनुगमन गर्न मुख्यमन्त्री ड्यासवोर्डको मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे । यस्तै मुख्यमन्त्री आचार्य र उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले संयुक्तरुपमा अभौतिक सांस्कृतिक सम्पदाहरुको पुस्तवक विमोचन गरे । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले उक्त पुस्तक प्रकाशन गरेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि एपको उद्घाटन गरे । मुख्यमन्त्री ड्यास वोर्ड र किसान एप प्रदेश सूचना तथा संचार प्रविधि प्रतिष्ठान लुम्बिनीले तयार पारेको हो ।