२०८२ श्रावण १०
बुटवल ९ साउन ।
राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवल मार्फत राजस्व चुहावट सम्बन्धी कसूरमा बिगो र जरिवाना गरी झण्डै १० करोड असुलको माग दावीको मुद्दा दायर गरेको छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसार बुटवल ५ स्थीत अजय बैङ्गल स्टोरले वास्तविक कारोबारको बिजक जारी नगरी मालवस्तु बिक्री गर्नुका साथै मालवस्तुको खरिद स्रोत नभएका भन्सार चोरी पैठारी गरेका मालवस्तुको कारोबार गरी करोडौँ रुपैयाँ बराबरको कर छली गरेको अनुसन्धानमा देखिएको भन्दै मुद्दा दायर गरेको छ । अजय वेङ्गल स्टोर्सका प्रोप्राइटर अजय अग्रहरी र कारोबारी पशुपति अग्रहरी विरुद्ध मुद्दा दायर गरिएको हो ।
राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० (६) बमोजिम जारी गरिएको कर छलीसम्बन्धी अभियोेगपत्रअनुसार अजय बैल्बस स्टोरले मूल्य अभिवृद्धि कर, भन्सार महसुल तथा कारोबार लुकाई आयकर समेत छली गरेको छ ।
वास्तविक मूल्याङ्कनका आधारमा उक्त कारोबारमाथि लाग्ने कर रु चार करोड ८३ लाख २५ हजार ८८६ बराबरको रहेको पाइएको छ । राजस्व विभागले बिगो असुल वा जफत गर्ने प्रावधान अनुसार बिगो असुल उपर गरी बिगोको शत प्रतिशत जरिवाना गरी ९ करोड ६६ लाख ५१ हजार ७७२ रुपैया असुल गर्न र कैद सजायको माग गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा अभियोग पत्र दायर गरिएको राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख, प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताए । उनीहरुले संयुक्त मिलेमतोमा गरेको राजस्व चुहावटको प्रकृति, गाम्भिर्यता तथा राजस्व चुहावट भएको रकम समेतलाई मध्यनजर राखी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, बमोजिम असुल उपर, जरिबाना तथा हदैसम्मको कैद सजाय मागदाबी गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा अभियोग पत्र दायर गरिएको हो ।
यसमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत सबै प्रकारका करहरू पनि समावेश गरिएको उल्लेख छ ।राजस्व अनुसन्धान कार्यालय बुटवलले सम्बन्धित व्यवसायी अजय बैङ्गल स्टोरविरुद्ध राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० (६) बमोजिम सरकारी कर छलीसम्बन्धी अभियोग पत्र शुक्रवार दर्ता गराएको हो ।