२०८२ भाद्र ८
बुटवल ९ साउन ।
बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन् । सरकारी छाप दस्तखत किर्ते मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर रुपन्देही प्रहरीले अर्याललाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक गणेश सापकोटाका अनुसार भैरहवाका पनि एक कर्मचारी पक्राउ परेका छन् ।
सरकारी छापको दुरुपयोग गरी नक्कली लालपुर्जा जारी गरेको विषयमा अनुसन्धान गर्ने क्रममा अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जिव कुमार केवटलाई पनि जिल्ला प्रहरी कार्यालय रूपन्देहीले पक्राउ गरेको हो ।
डीएसपी सापकोटाले यस प्रकरणमा अन्य ब्यक्तिहरु पनि अनुसन्धानको दायरामा रहेको भन्दै थप कुरा खुलाउन चाहेनन् । बुटवल र भैरहवामा भएको किर्ते घटना फरक–फरक भएको प्रहरीले स्पष्ट पारेको छ ।
यस प्रकरणमा अन्य केही ब्यक्तिहरु यस अघि नै तानिएको प्रहरीको भनाइ छ । कुन स्थानको जग्गाको विषयमा अनुसन्धान अगाडी बढाइएको हो भन्ने बारेमा पनि प्रहरीले खुलाउन चाहेनन् ।