२०८२ भाद्र ७
बुटवल २९ साउन ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा सञ्चालन गरिएको विजनेश इन्कुवेशन कार्यक्रममा हस्तकला सम्बन्धि व्यवसाय गरेका व्यवसायीलाई त्यस विषयमा कोचिङ गरिएको छ ।
संघमा स्थापना गरिएको उद्यम सम्वर्द्धन केन्द्रमा सञ्चालन गरिएको विजनेश इन्कुवेशनमा १० जना हस्तकलाका व्यवसायी सहभागि छन् । उनीहरुलाई बस्तु विकास, बजारीकरण, अन्तर्राष्ट्रिय बजार सम्बन्ध तथा निर्यातका विधि र प्रकृयाका बारेमा प्रशिक्षण गरिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी दिए ।
उनीहरुलाई साना हस्तकला काठमाण्डौंकी बजार प्रवन्धक रोजिना थापाले प्रशिक्षण गरिन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सहयोगमा नवउद्यमीलाई लक्षित गरेर यहि जेठदेखि विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरेको छ । उक्त विजनेश इन्कुवेशन कार्यक्रममा १५ जना नवउद्यमी सहभागि छन् ।
विजनेश इन्कुवेशन कार्यक्रम अन्तरगत यस अगाडि ६ वटा मास्टर क्लास, २ वटा कोचिङ् क्लास, डिजिटल मार्केटिङ लगायतमा प्रशिक्षण कार्यक्रम गरिसकिएको कार्यकारी निर्देशक कार्कीले जानकारी गराए ।
संघले यस अगाडीदेखि नै उद्यमशिलता विकासका लागि नवउद्यमीलाई लक्षित गरेर विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गर्दै आएको छ । संघले सञ्चालन गरेको विजनेश इन्कुवेशन यो तेस्रो हो ।