२०८२ भाद्र ७

उद्योग संघमा घरेलुको टोलीद्वारा उद्योग नवीकरण
  • लुम्बिनी खोज
  • २०८२ श्रावण ३०, शुक्रबार ०९:२० गते

बुटवल ३० साउन ।
रुपन्देही उद्योग संघको पहलमा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको एक टोलीले रुपन्देहीमा दर्ता भएका विभिन्न प्रकृतिका उद्योगहरुको शुक्रबार नवीकरण सम्पन्न गरेको छ । रुपन्देहीमा दर्ता भई संचालन हुँदै आएका उद्योगहरुलाई नविकरणका लागि सहज
बनाउन संघले उद्योग नविकरण टोल संघको कार्यालयमा बोलाई सो सुविधा उपलब्ध गराएको हो । शुक्रबार बिहान १० बजेदेखि नै शुरु भएको नविकरणको प्रक्रिया दिनभर नै उत्साहजनक चलिरहको थियो । बुटवलमै उद्योग नविकरण गर्ने अवसर प्रदान गरेकोमा उद्योगीहरुले रुपन्देही उद्योग संघलाई धन्यवाद दिएका छन् ।
उद्योगीहरुलाई नविकरण सेवा सहज वातावरणमा प्रदान गरेकोमा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीलाई संघले विशेष आभार प्रकट गरेको छ ।
घरेलु तथा साना उद्योग कार्यालयबाट आएको निमित्त प्रमुख उद्योग अधिकृत लोक कुमार कार्कीको नेतृत्वको टोलीमा अधिकृत छैटौ गणेश बहादुर रायमाझी, कम्प्युटर अपरेटर भक्त बहादुर मगर, कार्यालय सहयोगि भरत कुमार चौधरी लगायतको सहभागिता रहेको
थियो ।
त्यसैगरीे नविकरण शुल्क अनिवार्य बैंक जम्मा गर्नुपर्ने भएको हुँदा उद्योगीलाई सहजताको लागि कृषि विकास बैंक बुटवल शाखाले संघको अनुरोधमा संघको सचिवालयसम्म आई बैंकिङ्ग सेवा उपलब्ध गराएको थियो । टोलीमा बुटवल शाखा वरिष्ठ सहायक सोमनाथ
खनाल, सहयोगी संगिता शर्मा लगायतले सेवा प्रदान गरेका थिए ।
संघले घरेलु तथा साना उद्योग कार्यालयको उद्योग नविकरणको सुविधा संघकै सचिवालयबाट निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । संघका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्योगीहरुको सहजताका लागि संघले यस अघि लामो समयदेखि निरन्तर गर्दै आएको नवीकरण कार्यलाई निरन्तरता दिएको बताए ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत लोक कुमार कार्कीले संघको मागको आधारमा संघकै कार्यालयबाट नविकरण सेवा दिइएको बताउँदै २०७९—२०८० सम्म नविकरण छुटेका उद्योगीहरुलाई २०८२ पुस मसान्त सम्म ७५ प्रतिशत छुट दिइएकोले त्यसको सदुपयोग गर्न अनुरोध गरे ।