२०८२ भाद्र ७

बुटवल उवासंघमा स्वागत तथा सम्मान
  • लुम्बिनी खोज
  • २०८२ भाद्र २, सोमबार १२:१२ गते

बुटवल २ भदौ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जिल्लामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डे सहित प्रहरी प्रशासन तथा विभिन्न कार्यालयका नव आगन्तुक कार्यालय प्रमुखलाई स्वागत गरेको छ । संघले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी उनीहरुलाई स्वागत गर्नुको साथै उत्कृष्ट शैक्षिक संस्था र शैक्षिक संस्थाको नेतृत्वमा पुगेका व्यक्तिहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहामनगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको सामाजिक, सांस्कृतिक, आर्थिक, व्यवसायिक तथा राजनीतिक विकासमा समेत बुटवल उद्योग वाणिज्य संघको उल्लेखनीय योगदान रहेको बताए । उनले बुटवलको ऐतिहासिक महत्व बोकेकोे बुटवलको विकास र प्रवद्र्धनका लागि नगरपालिकाले विशेष प्राथमिकता दिएको बताउँदै रात्रीकालिन बजार सञ्चालनमा जोड दिए ।
बुटवलको बजारलाई चलायमान बनाउनको लागि र बाह्य पर्यटकलाई आकर्षण गर्न रात्रीकालिन बजार अपरिहार्य रहेको बताउँदै उनले त्यसलाई पुरा गर्नेगरी सहयोगी बन्न व्यवसायिक संघसंस्थाहरुलाई आग्रह गरे । ‘रात्रीकालिन बजार सञ्चालनका लागि विभिन्न प्रकारका प्रयासहरु भएका छन्’, उनले भने–‘यो विषयलाई अहिले एउटा टुंगोमा पु¥याउनै पर्छ ।’ बुटवलको विकासको लागि सहकार्य गर्न पनि उनले आग्रह गरे ।
कार्यक्रममा रुपन्देहीमा हालै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले समग्र जिल्लाको शान्ति सुरक्षा, विकास निर्माणका कुरामा र व्यवसायिक वातावरण निर्माणमा कसैसंग कुनै प्रकारको सम्झौता हुन नसक्ने बताए । आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं. ३ को उपचुनाव समेत रहेको भन्दै उनले चुनावलाई समेत भय रहित वातावरण शान्तिपूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालले मुलुकमा औद्योगिक तथा व्यवसायिक वातावरण विग्रिएका कारण भएका उद्योगहरु तथा व्यापार व्यवसाय समेत बन्द हुने स्थितीमा पुगेको बताउँदै पलायन हुन खोजेका उद्योगी व्यवसायीलाई पुनस्थापित हुने वातावरण निर्माणमा सहयोगी बन्न नगरप्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे । उनले झन्झटिला ऐन कानुनहरुलाई सुधार गर्न पनि आग्रह गरे ।
बुटवलको कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझालाई कार्यक्रममा सम्मान गरिएको थियो । त्यस्तै बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस सञ्चालक समितिको अध्यक्षमा निर्वाचित संघका पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौल, बुटवल उद्योग वाणिज्य संघको नेतृत्वमा स्थापित बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले तेस्रो पटक विश्व विद्यालय अनुदान आयोगबाट क्यू.ए.ए. प्राप्त गर्न सफल भएकोमा उक्त क्याम्पसलाई पनि सम्मान गरिएको थियो ।
त्यसैगरी पहिलो पटक क्यू.ए.ए. प्राप्त गरेको बुटवल कालिका क्याम्पसलाई पनि सम्मान गरिएको छ । लुम्बिनी बाणिज्य क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ र क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायलाई सम्मान गरिएको हो भने बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
त्यसैगरी हालै सरुवा भई रुपन्देही आउनु भएका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डे, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरिक्षक सन्तोष सिंह राठौर, ससस्त्र प्रहरी बल २७ नं. गण हेडक्वाटर रुपन्देहीका प्रहरी वरिष्ठ उपरिक्षक मेखराज जोशी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरिक्षक मित्रबन्धु शर्मा, राष्ट्रिय अनुसन्धान आयोग उप अनुसन्धान निर्देशक प्रकास आचार्य, आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत हरि बस्याललाई स्वागत गरिएको हो ।
कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख डा. ताराप्रसाद उपाध्याय, बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारीलगायतले शुभकामना सहित भनाई राखेका थिए ।