२०८२ भाद्र ७
काठमाण्डौं ४ भदौ ।
बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल (विफु – नेपाल) राष्ट्रिय समितिको चौथो पूर्ण बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले संविधान २०७२ को धारा ३४ तथा श्रम ऐन, २०७४ ले दिएको अधिकार प्रत्यायोजन हुने गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र बीमा क्षेत्रका ऐनमा विषयवस्तु समेटी विभागीय कारबाही पुनरावलोकन गर्न सक्ने प्रावधान हुनु पर्ने ठहर गरेको छ ।
२ दिनसम्म सञ्चालित पूर्ण बैठकले सर्वोच्च अदालतको मिति २०८१ फागुन २ गतेको फैसलाबाट बैंक, बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको रोजगारीको सुरक्षामा गम्भिर चुनौती सृजना भएको तथा कर्मचारी माथि व्यवस्थापनबाट ज्यादती हुन सक्ने हुँदा सो सन्दर्भमा नेपालको संविधान २०७२ को धारा ३४ तथा श्रम ऐन, २०७४ ले दिएको अधिकार प्रत्यायोजन हुने गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र बीमा क्षेत्रका ऐनमा विषयवस्तु समेटी विभागीय कारबाही पुनरावलोकन गर्न सक्ने प्रावधान हुनु पर्ने निर्णय गरेको छ ।
बैठकपछि महासचिव शंकर प्रसाद भट्टराईद्धारा जारी प्रेस विज्ञप्तीका अनुसार बैठकले कर्मचारी अवकाश हुँदा प्राप्त गर्ने सबै प्रकारका अवकाश भुक्तानीमा लाग्ने करलाई ५ प्रतिशत कायम राखिनु पर्ने (निजामति कर्मचारीतर्फ भए अनुरुप हुनु पर्ने) माग पनि बैठकले गरेको छ । त्यस्तै सरकारी स्वामित्वमा रहेको बैंक, बीमा तथा वित्तीय संस्थाहरुमा नाफाको ५ प्रतिशत र निजी संस्थाहरुमा नाफाकोे १० प्रतिशत बोनश वितरण गर्ने ब्यवस्था विभेदकारी भएको भन्दै बैठकले बोनश दरमा भएको विभेदलाई अन्त्य गर्ने गरी नियमावली संंशोधन हुनु पर्ने माग पनि अगाडी सारेको छ । नेपालको संविधान २०७२ मा नेपाल समाजबाद उन्मुख राज्य हुनेछ भन्ने परिकल्पना गरिएको तर सरकारी संस्थामा वितरण गर्ने बोनशमा विभेद रहेकोले अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि
(समान कामका लागि समान सुविधा) तथा श्रम ऐनको समेत उल्लघंन गरेकोले बोनश दरमा भएको विभेदलाई अन्त्य गर्ने गरी नियमावली संंशोधन हुनु पर्ने साथै, राष्ट्रियस्तरको कल्याणकारी कोषमा दाखिला गर्ने अनुपातमा रहेको विभेदको पनि अन्त्य हुनु पर्ने निर्णय गरिएको महासचिव शंकर प्रसाद भट्टराईले बताए । बैठकले कर्मचारी सेवा विनियमावलीमा भएको संशोधन स्वीकृती प्रक्रियाले आम कर्मचारीको वृत्ति विकासमा गंभिर असर पुगेको ठहर पनि गरेको छ ।
बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल राष्ट्रिय समितिको चौथो पूर्ण बैठक एमाले पोलिटब्यूरो सदस्य एवं महासंघ इञ्चार्ज रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा पेसागत महासंघ नेपाल राष्ट्रिय समिति अध्यक्ष पुण्य प्रसाद ढकाल, उपाध्यक्ष द्वय भोलानाथ पोखरेल र हरि कुमार श्रेष्ठ, महासचिव केदार प्रसाद देवकोटा तथा पेसागत महासंघ नेपाल राष्ट्रिय समिति सचिव एवं विफु नेपालका इञ्चार्ज कमल पराजुलीसहितका अतिथिहरुको उपस्थितिमा सम्पन्न दुई दिने पूर्ण बैठक विफु नेपालका अध्यक्ष धर्मराज मैनालीको अध्यक्षतामा सम्पन्न भएको हो । अतिथिहरु तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका राष्ट्रिय समिति सदस्यहरुको उत्साहपूर्ण सहभागिता रहेको बैठकमा समितिका उपाध्यक्ष लिला जि.सी.ले स्वागत र महासचिव शंकर प्रसाद भट्टराईले सञ्चालन गरेका थिए । भदौ्र ३ गते विफु नेपालको ३१औं वार्षिकउत्वसको उपलक्ष्यमा सबैले एकआपसमा बधाई तथा शुभकामना आदान–प्रदान समेत गरेका थिए । बैठकमा समितिका पदाधिकारी तथा सदस्यहरुबाट गहन रुपमा छलफल भएको थियो । पूर्ण बैठकले पास गरेका विषयमा प्रमुख अतिथि तथा अतिथिहरुले नतिजा देखिने गरी सम्बन्धित पक्षसँग छलफल गरेर कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाएको महासचिव भट्टराईले बताए ।