२०८२ भाद्र १६

आर्थिक क्रान्तिका लागि कृषि क्रान्ति अनिवार्यः विप्लव
  • लुम्बिनी खोज
  • २०८२ भाद्र १३, शुक्रबार ११:५२ गते

बुटवल १३ भदौ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मुलुकको विकास र समृद्धिका लागि आर्थिक क्रान्ति गर्नुपर्ने बताएका छन् । आर्थिक क्रान्तिका लागि पनि कृषि क्रान्ति अनिवार्य रहेको उनको भनाइ छ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै महासचिव विप्लवले आफ्नो पार्टी उत्पादनमा लागेको बताउँदै सुरुवाती चरणमै उत्पादित कृषि सामाग्रि आफूहरुले उपभोग गरेर पनि विक्रि गर्न सफल भएको पनि बताए ।
पार्टी उत्पादनसंग जोडिएको सुरुवाती चरणमा कृषि, पशुपालन र गार्मेटको काम गरिएको बताउँदै अब निकट भविश्यमा उद्योगमा समेत जान चाहेको उनले बताए । ‘हामीले अहिले कृषि, पशुपालन र गार्मेन्ट पनि सुरु गरेका छौं’, उनले भने–‘अब सानो ठूलो जे जस्तो हुन्छ उद्योग गरौं भन्नेछ, अब बस्ने बैठकबाट त्यसको पनि निर्णय लिनेछौं ।’
उनले मुलुकमा राजनीतिक परिवर्तन भएपनि पुराना मान्यताहरुबाट बाहिर निस्किन नसकिएको बताउँदै पुराना मान्यताहरु रहिरहँदासम्म सारमा त्यसले कुनै अर्थ नराख्ने बताए । नीजि क्षेत्र मुलुकको आर्थिक विकासको प्रमुख साझेदार रहेको बताउँदै महासचिव विप्लवले राज्य र नीजि क्षेत्र विचको तालमेल मिलाएर अगाडी बढ्नुपर्ने बताए । त्यसका लागि पुराना मान्यताबाट बाहिर निस्किएको बहस आवश्यक रहेको उनको भनाइ छ ।
उनले नेपालमा हुने अन्तर्राष्ट्रिय लगानीमा आफूहरुको विरोध नभई, त्यसरी आउने लगानी देशको हितमा हुनुपर्ने बताए ।
कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्यालले २००९ सालमा तदर्थ समिति हुँदै २०१० सालमा स्थापना गरिएको बुटवल उद्योग वाणिज्य संघले यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा सामाजिक र आर्थिक क्षेत्रमा लगानी सहितको नेतृत्वदायी भूमिका खेलेको बताए ।
उनले स्वदेशमै उत्पादन भएका र आत्मनिर्भर भईसकेका बस्तुको आयातलाई निरुत्साहित गर्नुपर्ने बताउँदै यस्ता कुरालाई पार्टीको नीति बनाउन सुझाव दिए ।
संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले अहिले उद्योगी व्यवसायी पलायन हुने स्थितीमा पुगेको बताउँदै त्यसले उद्योग व्यवसायमा भएको ठूलो लगानी समेत जोखिममा परेको बताए । कार्यक्रममा संघका पूर्वअध्यक्षहरु जीवनप्रसाद वझा, ज्ञानेन्द्र कसजू, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, खिमबहादुर हमाललगायत उद्योगी व्यवसायीहरुले उद्योग व्यवसायमा भएका जटिलता, खुला सिमा, सरकारले लिएको आयात निर्यातको नीति, कृषि उत्पादन र बजार लगायतका समस्या राख्दै नेकपाले लिएको देशको अर्थनीति, औद्योगिक नीति, नीजि क्षेत्रलाई हेर्ने पार्टीको दृष्टिकोण लगायतका जिज्ञाशा राखेको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले बताए ।