२०८२ भाद्र २१
बुटवल २० भदौ ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भक्तपुरद्वारा निर्माण गर्न लागिएको तीन तले बाह्रकोठे भवनको शिलान्यास गरिएको छ ।
उक्त भवनको शिलान्यास गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको शैक्षिक क्षेत्रमा विद्यालयले छुट्टै पहिचान कायम गरेर बुटवललाई गर्व गर्ने काम गरेको भन्दै विद्यालयमा कार्यरत विद्यालय प्रशासन, शिक्षकहरुको उच्च प्रशंसा गरे । उनले विद्यालयको समग्र विकासमा निरन्तरता सहयोग रहने प्रतिवद्वता पनि व्यक्त गरे ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भक्तपुरका इन्जिनियर सागर पौडेलले विद्यालयको भवन निर्माणको लागि ४ करोड ५० लाख बजेट विनियोजन गरेकोमा निर्माण हुने भवन नेपाल सरकारको मापदण्ड अनुसार २०८३ पुस २८ गते सम्म सम्पन्न गर्ने बताए । उनले काममा कुनै कमि नआउने गरी सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरिने भन्दै उक्त भवनको लागि १६८ सेट डेस्क बेन्च छुट्टै शौचालय निर्माण गरिने पनि बताए ।
निर्माण व्यवसायी जी.पी. विल्डर्स प्रा.लि.का इन्जिनियर अर्जुन पाण्डेयले लुम्विनी प्रदेशमा ५ वटा यहि किसिमका भवन निर्माण गर्ने जिम्मेवारी प्राप्त भएकोमा समयमा नै सम्पन्न गर्ने प्रतिवद्वता व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले हाल सम्मका विद्यालयका सवल पक्षहरु र विद्यालयले सामना गर्नु परेका चुनौतीहरुको बारेमा धारणा राखेका थिए ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष एवं विद्यालयका संरक्षक रामचन्द्र क्षेत्रीको अध्यक्षतामा अखिल नेपाल फुटवल संघ (एन्फा) द्वारा अण्डर १४ फुटवलमा छनौट भइ बुटवल उपमहानगरपालिकाको तर्फबाट आवासीय सुविधा सहित कक्षा १० एफ मा अध्ययनरत फुटवल खेलाडी विद्यार्थी अभिक शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा कक्षा ११ विज्ञान समुहमा अध्ययनरत विद्यार्थीहरु संगसंगै बुटवल उपमहानगरपालिका प्रमुखले भौतिक शास्त्र विषयका नेपालकै अब्बल शिक्षक विनय कुमार वि.क.को डिजिटल कक्षामा बसी आफुले विज्ञान संकाय प्रवीणता पत्र तहमा अध्ययन गर्दाको र हालको अवस्थाको तुलनात्मक अध्ययन गरेका थिए ।