२०८२ कार्तिक २

अर्थमन्त्रीले बनाए पुँजीबजार सुधार कार्यदल, पाँच दिनभित्र रिपोर्ट दिने
  • लुम्बिनी खोज
  • २०८२ आश्विन ३, शुक्रबार १२:३६ गते

काठमाण्डौं ३ असोज ।
जेन–जी आन्दोलनपछि पहिलो कारोबारको दिन बिहीबार सेयर बजारमा ठुलो गिरावट आएपछि अर्थ मन्त्रालयले तत्काल अध्ययनका लागि कार्यदल गठन गरेको छ। बिहीबार नेप्से परिसूचक १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा रोकिएको थियो। पुँजी बजारमा देखिएका समस्या र विसंगति अध्ययन गरी समाधानका लागि गठन गरिएको कार्यदललाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार कार्यदलले लगानीकर्ताको मनोबल वृद्धिका लागि तत्काल आवश्यक प्रणालीगत तथा प्रक्रियागत सुधारका उपाय र दीर्घकालीन रूपमा बजार सुदृढ बनाउनुपर्ने कदमबारे सुझाव दिनेछ। शुक्रबार अर्थमन्त्री रामेश्वर खनालको निर्णयअनुसार बनेको कार्यदलमा धितोपत्र बोर्ड नेपालका कार्यकारी निर्देशक (कामु) रुपेश केसी संयोजक नियुक्त भएका छन्।
त्यस्तै, नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका कार्यकारी निर्देशक (कामु) निरन्जन फुयाँल सदस्यका रूपमा रहनेछन्। अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्यसचिव रहने गरी कार्यदललाई काममा लगाइएको छ।