२०८२ कार्तिक २
बुटवल ४ असोज ।
रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने घोषणा गरेको छ । संघले प्रदर्शनीका लागि शनिबार बोर्ड गाडेर औपचारिक सुरुवात गरेको छ । यसअघि संघको सचिवालय तथा कार्यसमिति बैठकबाट यसको निर्णय गरेर शनिबार औपचारिक रुपमा बुटवल रामनगरस्थित प्रदर्शनी गेटमा बोर्ड गाडेर यसको सुरुवात गरेको जनाएको छ ।
प्रदर्शनी गेट परिसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष दिलिप सापकोटाले रुपन्देही उद्योग संघले ४ दशकअघिबाट सुरुवात गरेको औद्योगिक प्रदर्शनी ब्राण्ड बनेको उल्लेख गर्दै यसअघि ०७८ सालमा यस क्षेत्रका व्यवसायिक संस्थाहरुबीच बसेर बुटवल उपमहानगरमा गरेको समझदारीअनुसार अघि बढेको जिकिर गरे । ‘औद्योगिक प्रदर्शनी रुपन्देही उद्योग संघले ब्राण्ड गरेको इतिहास लुकेको छैन, हामीले हरेक वर्ष आफैले यो गर्ने भनेका पनि छैनौं, पूर्ववत समझदारीअनुसार पुसको प्रदर्शनी गर्ने पालो संघको हो, तत्कालीन समझदारीकर्ताले यो विषय हेरे प्रष्ट हुन्छ, तत्कालीन जनप्रतिनिधिसमेतको रोहबरमा गरिएको समझदारीअनुसार हामीले यसको प्रकृया अघि बढाएका हौं’ उनले भने ।