२०८२ कार्तिक २
बुटवल ४ असोज ।
उद्योग ब्यापार संघ बुटवलले एक वर्षअघिदेखि पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव २०८२ को तयारी थालेको भन्दै त्यसुमा भांजो नहाल्न आग्रह गरेको छ । उद्योग ब्यापार संघले बुटवल मण्डपमा २०८२ पुस ५ देखि १८ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला आयोजना गर्ने निर्णय गरी गत पुस २१ गते बुटवल उपमहानगरपालिकामा निवेदन दर्ता गरेको पनि जनाएको छ । संघले पुस २२ गते वृहत पत्रकार सम्मेलन गरी ब्यापार मेलाबारे जानकारी गराएको र त्यसबारे स्थानीय र राष्ट्रियस्तरका सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भएको भन्दै अहिले आएर विवाद गर्नु उपयुक्त नभएको जनाएको छ ।
संघले आज बुटवलमा पत्रकार सम्मेलन गरी दिएको जानाकारी अनुसार शहरी विकास मन्त्रालय विशिष्ट संचना सञ्चालन तथा व्यवस्थापन विकास समितिमा मेला आयोजना गर्न स्थानको स्वीकृतिका लागि निवेदन दिएकामा उक्त समितिले बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाईलाई पत्राचार गर्दै पुस ४ अगावै निर्माण कार्य पूरा गरी स्थान दिन निर्देशन गरेको थियो । यी प्रकृया पूरा गरेर प्रदेश र संघीय मन्त्रालयहरुमा प्रस्तावना पत्र समेत बुझाई करिब ३० प्रतिशत तयारी पूरा गरेको अवस्थामा रुपन्देही उद्योग संघले मुलुकमा उत्पन्न विषम परिस्थितिमा एक्कासी सोही ठाउंमा पुस ३ देखि औद्योगिक प्रदर्शनी गर्ने भन्दै बोर्ड गाडेको भन्दै उद्योग ब्यापार संघले असहमति जनाएको छ । उद्योग संघले भन्दा १५ दिन अगाडि उद्योग ब्यापार संघले मेलाको जानकारी दिने ब्यानर प्रदर्शनीस्थलको गेटको पर्खालमा राखिसकेको पनि जनाएको छ ।
आफूले एक वर्षदेखि तयारी गरेको मेलाका सम्बन्धमा महिनौंसम्म सार्वजनिक रुपमा मौन बसेको उद्योग संघले एक्कासी बोर्ड राखेर सरासर गलत काम गरेको उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेको भनाइ छ ।
संघले आइतबार पत्रकार सम्मेलन गरी बुटवल उपमहानगरसंग बुटवलका चार व्यवसायिक संस्थाबीच विगतमा सहमति भएको दावी गर्दै उनले उद्योग संघले तोडमोड गरी एकतर्फी ब्याख्या गरेर बलमिच्याई गरेको आरोप लगाए । सहमति तोडमोड गर्ने कार्य कदापी स्वीकार्य नहुने अध्यक्ष पाण्डेले भनाइ छ ।
यसअघिका तीन वटा मेलामा आफूहरुले तीनवटै संस्थालाई सहयोग गरेको र स्वभाविकरुपमा यसपटक आफ्नो पालो कुरेर बसेकाले कुनै विवाद नगरेको उनले बताए ।
‘कान्छो संस्था भनेर अवमूल्यन गर्ने दिवासपना नदेख्न आग्रह छ, हाम्रो मेलामा अवरोध भएमा अरुले मेला सञ्चालन गर्न सक्दैनन्,हामी दिंदैनौं’–अध्यक्ष पाण्डेले भने–‘हामी चार संस्थाबीच सहमतिमै आलोपालोमा पुसको मेला गर्न पाउनुपर्छ भन्ने अडानमा छौं, रुपन्देही उद्योग संघले द्वन्द्व निम्त्याउन खोजेको छ, हामीले द्वन्द्व चाहेका छैनौं, तर निहुं खोजेर भांजो हाल्न खोजेमा सशक्त प्रतिवाद गर्छौं ।’
उद्योग ब्यापार संघका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले २०७८ पुसमा आफूहरुले देविनगरमा मेला सञ्चालन गर्दा अन्य तीन संस्थाबीच आलोपालोमा विवाद नहोस् भनेर तीन संस्थाको नाम उल्लेख भएको र आफूहरु आयोजक भएकाले चौथो पालो स्वतः आफूहरुको भएको दावी गरे । बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही ब्यापार संघ र उद्योग संघले पाएको अधिकार आफूहरुले पनि स्वभाविक रुपमा पाउनुपर्ने उनको भनाइ छ । ‘कसैको दम्भले अब काम गर्दैन, सम्हालिन आग्रह छ, हाम्रो संस्था अन्यायमा परेर चुप लागेर बस्दैन’–पराजुलीले भने–‘हामीले नपाए उहांहरुले पनि पाउनुहुन्न भन्नेमा प्रष्ट हुन जरुरी छ ।’
संघका निवर्तमान अध्यक्ष गोविन्दराज गैरेले उद्योग संघले २०७८ मा कोभिड महामारीका बीच पनि सफलतापूर्वक मेला सम्पन्न गरेको भन्दै यस पटक सहयोग गर्न आग्रह गरे । ‘हामीले आफ्नो पालोमा सबैभन्दा पहिला उपमहानगरमा निवेदन दर्तागरेर तयारी गरिसकेकाले जुनसुकै मूल्य चुकाएर पनि हामी पुस ५देखि मेला सञ्चालन गर्छौं’–‘९ महिनासम्म औद्योगिक प्रदर्शनी बारे कुनै तयारी नगरेको उद्योग संघले मुलुकमा उत्पन्न दुखद र विषम परिस्थितिमा अरुले गर्न खाजेको मेलामा भांजो हाल्न खोज्नुले कदापी राम्रो गर्दैन,यसमा उद्योग संघ सहमतिमा आउनुको विकल्प छैन ।’