२०८२ कार्तिक २

दुई सरकारी कार्यालयलाई व्यापार संघको सहयोग
  • लुम्बिनी खोज
  • २०८२ आश्विन ५, आईतवार १२:३६ गते

बुटवल ५ असोज ।
रुपन्देही व्यापार संघले जेन–जीको आन्दोलनका क्रममा आगजनी भएका दुई सरकारी कार्यालयलाई दैनिक काम सञ्चालनका लागि आवश्यक विद्युतीय सामानहरू सहयोग गरेको छ ।

संघको कार्यालयमा आइतबार आयोजित सामाग्री हस्तान्तरण कार्यक्रममा इलाका प्रशासन कार्यालय, बुटवल र सरकारी वकिलको कार्यालय, बुटवललाई करिब दुई लाख मूल्य बराबरका दुई थान कम्प्युटर, प्रिन्टर तथा स्क्यानर प्रदान गरिएको कार्यालय प्रमुख सरोज पाखेरेलले बताए ।

कार्यक्रममा संघका अध्यक्ष दीपकप्रसाद अधिकारीले इलाका प्रशासन कार्यालयका प्रमुख रामचन्द्र अर्याल र सरकारी वकिल कार्यालय, बुटवलका कम्प्युटर अपरेटर बुद्धि पराजुलीलाई ती सामाग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा इलाका प्रशासन कार्यालय, बुटवलका प्रमुख रामचन्द्र अर्यालले आगजनीबाट ध्वस्त कार्यालयबाट सेवा प्रदान गर्न गरिएको सहयोगप्रति आभार प्रकट गर्दै जनतालाई दिने सेवा जति सक्दो चाडो प्रदान गर्न लागि परेको बताए ।

रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष श्रीकृष्ण पोखरेलले मुलुकले अकल्पनिय क्षति व्यहोरोको वर्तमान अवस्थामा सबैले सहयोगी भावना राखेर काम गर्नु पर्ने बताए । जेन–जीका नाममा भएको आगजनी र तोडफोडबाट भएको क्षतिको परिपूर्ति हुन धेरै समय लाग्ने धारणा उनले राखे ।

सरकारी वकिल कार्यालय, बुटवलका कम्प्युटर अपरेटर बुद्धि पराजुलीले कार्यालय सञ्चालनका लागि संघले गरेको सहयोगको लागि आभार व्यक्त गरेका थिए ।
कार्यक्रम संघका अध्यक्ष दिपक प्रसाद अधिकारीको अध्यक्ष्ता तथा महासचिव फर्सुराम पन्थको सञ्चालनमा भएको थियो ।
जेनजीको आन्दोलनका क्रममा रुपन्देहीमा विभिन्न सरकारी कार्यालयहरुमा तोडफाड तथा आगजनी भएको थियो ।