२०८२ कार्तिक २

आगजनीले कसैलाई फाइदा गर्दैनः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८२ आश्विन ५, आईतवार १३:२२ गते

बुटवल ५ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका क्रममा दाङ जिल्लामा आगजनीबाट प्रभावित कार्यालयहरुको अनुगमन गरेका छन । आइतबार तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा आगजनीबाट प्रभावित कार्यालयहरुको मुख्यमन्त्री आचार्यले अनुगमन गरेका हुन । आगजनीमा परेका सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालयमा पुगेर अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले टेन्ट टाँगेर भएपनि सेवा प्रवाहलाई अगाडि बढाइने बताए । उनले कर्मचारी र सेवाग्राहीको मनोबल उच्च बनाउन अनुगमन सुरु गरेको जानकारी दिए । जेन्जीको नाममा घुसपैठ गरेर गरिएको आगजनीको घटनाले ठूलो नोक्सानी भएको भन्दै सञ्चारकर्मीहरुसँगको कुराकानीमा मुख्यमन्त्री आचार्यले भने, ‘प्रत्यक्ष नागरिकको दैनिक कामसँग जोडिएका कार्यालयहरु खरानी भएका छन् । जसबाट सेवा प्रवाह गर्न कठिनाई हुने निश्चित छ । मालपोत कार्यालय, नापी कार्यालय जलेका छन् । ती कार्यालय जल्दा धेरै महत्वपूर्ण कागजपत्र पनि खरानी बने । अब पुनः कागजपत्र बनाउन निकै दुःख हुने देखिन्छ ।’
राज्यलाई कमजोर पार्ने गरी भएको आगजनीले कसैलाई फाइदा नहुने उनले बताए । ‘टेन्ट टाँगेरै भएपनि सेवा अगाडि बढाउनुपर्छ भनेर हामीले भनिरहेका छौं । सबै कार्यालयहरुमा पुगेर कर्मचारीहरुको मनोबल उठाउने र सेवाग्राहीलाई कसरी सेवा पु¥याउन सकिन्छ भन्ने छलफललाई पनि केन्द्रित गरेर अघि बढिरहेका छौं’ उनको भनाइ थियो ।
जेन्जीको नाममा घुसपैठ गरेर सरकारी सम्पत्तिको विनाश मच्चाउने काम भएको भन्दै मुख्यमन्त्री आचार्यले निन्दा पनि गरे । अनुगमनमा दाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, सरोकारवाला पक्ष लगायतको उपस्थिती थियो ।
भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा १३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । आन्दोलनका क्रममा ६७ निजी सम्पत्तिमा तोडफोड, ५२ राजनीतिक दलका पार्टी कार्यालय र १४ वटा प्रहरी इकाइमा आगजनी तथा तोडफोड भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आन्दोलनका क्रममा लुम्बिनी प्रदेश अन्तर्गत सबैभन्दा बढी क्षति दाङ जिल्लामा भएको छ । जसमा ७० वटा संरचनामा तोडफोड र आगजनी गरिएको विवरण प्रहरीले यसअघि नै सार्वजनिक गरेको थियो ।