२०८२ कार्तिक २
बुटवल ९ असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका कारण रुपन्देही जिल्लामा क्षति पुगेका कार्यालय, व्यावसायिक भवन, राजनीतिक दलका कार्यालय तथा निजी घरहरुको अनुगमन गरेका छन्।
भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएको क्षतीको अर्घाखाँची, प्यूठान, दाङ र बाँकेमा अनुगमन गरिसकेका उनले बिहीबार भैरहवा र बुटवलका विभिन्न स्थानको अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले घटनाको न्यायिक छानबिन गरेर घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए। ‘भदौ २३ र २४ गतेको आन्दोलनको निष्पक्ष छानबिन हुनुपर्छ। दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्छ,’ उनले भने, ‘आन्दोलनको नाममा सरकारी, सार्वजनिक र निजी सम्पत्तिलाई ध्वस्त पार्ने काम भएको छ। यस्तो अराजक गतिविधिको विरोध गर्दछौं।’
रुपन्देहीमा आन्तरिक राजस्व कार्यालय, सिद्धार्थनगर नगरपालिका, नापी कार्यालय, भैरहवा भन्सार कार्यालय, इलाका प्रशासन कार्यालय, बुटवल उपमहानगरपालिका, कांग्रेस नेता वालकृष्ण खाडको निवास, ड्रिमल्याण्ड होटल, पूर्वमुख्यमन्त्री लिला गिरीको निवासलगायत विभिन्न कार्यालय तथा नेताका घरहरुमा आगजनी तथा तोडफोडबाट क्षती भएको छ।