२०८२ पुष १७

लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य छैनः प्रधानमन्त्री कार्की
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक २२, शनिबार १५:५५ गते

काठमाडौँ २२ कात्तिक ।
प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य नभएको बताएकी छिन् । उनले भर्खरैको जेनजी आन्दोलनले दिएको म्यान्डेटलाई आत्मसात् गर्दै सुशासन र निजी क्षेत्रको सुरक्षामा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताएकी छिन्।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस ’ लाई सम्बोधन गर्दै उनले उद्योगी–व्यवसायीलाई ‘आर्थिक समृद्धिको जगका विशाल ढुङ्गा’ को संज्ञा दिइन्। भ्रष्टाचार, दलगत लेबी र कमिसनको सञ्जाल सह्य नभएको पनि उनले बताइन् । उनले इमानदार उद्यमीलाई प्रताडित गर्ने र नीतिगत चलखेल गर्नेहरू पोसिने अवस्था रहन नहुनेमा पनि जोड दिइन् ।
प्रधानमन्त्री कार्कीले भदौको जेनजी आन्दोलनले घुसखोरी, कमिसनको सञ्जाल, लुटतन्त्र र इमानदार उद्यमीलाई प्रताडित गर्ने अवस्था सह्य नहुने स्पष्ट सन्देश दिएको बताइन्।
सुशासनलाई सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वसर्त बताउँदै उनले कानुनको शासन स्थापित गर्न र सुरक्षाको प्रत्याभूति दिन सरकार सम्पूर्ण शक्तिका साथ लागेको जानकारी गराइन्। उद्योगीको मनोबल नउठेसम्म अर्थव्यवस्था उठ्न नसक्ने बताउँदै उनले निजी क्षेत्रको माग सम्बोधन गर्न सहज वातावरण निर्माणमा सरकार निरन्तर सहकार्य गरिरहेको स्पष्ट पारिन्।