२०८२ पुष १७

रुपन्देही उद्योग संघमा नयाँ नेतृत्वको पदस्थापन,  अध्यक्षमा पराजुली
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक २२, शनिबार १६:०३ गते

बुटवल २२ कात्तिक ।

रुपन्देही उद्योग संघको ४७औँ साधारणसभा तथा २४औँ अधिवेशन सम्पन्न भएको छ । संघको २४औँ अधिवेशनले अध्यक्षमा कृष्णप्रसाद पराजुलीलाई चयन गरेको छ । अधिवेशनले अध्यक्षमा पराजुलीसहित कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । रुपन्देहीका एक हजार ६९ उद्योगी आबद्ध रहेको संघको शनिबार २४औँ अधिवेशनबाट अध्यक्षसहित सबै पदमा निर्विरोध भएको निर्वाचन समितिका प्रमुख रामप्रसाद आचार्यले बताए ।

संघको वरिष्ठ उपाध्यक्षमा जीवकान्त काफ्ले, प्रथम उपाध्यक्षमा हरिबहादुर खत्री, द्धितिय उपाध्यक्षमा युवराज आचार्य, महासचिवमा सुमन बस्याल, कोषाध्यक्षमा विशाल बेलवासे, सचिवमा अशोक कुँवर र सहकोषाध्यक्षमा राजु घिमिरे निर्वाचित भएका छन् । पदाधिकारीको सचिव (महिला) पद भने खाली छ । उक्त पदमा शारदा रेग्मी (भट्टराई)को उम्मेदवारी परे पनि उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएपछि पद नै खाली भएको हो ।

त्यस्तै सदस्यमा आजीवनतर्फ इन्जिनियर किरण खरेल, एसोसिएटतर्फ अखिलेश गुप्ता कसौधन, संस्थागतमा तेजप्रसाद पराजुली निर्वाचित भएका छन् । खुला सदस्य ६ जनामा रमेशप्रसाद आचार्य, लालप्रसाद बस्याल, काशीनाथ खनाल, मेघबहादुर घिमिरे, अनिशकुमार कसौधन र थानेश्वर पाण्डे निर्वाचित भएका छन् । त्यस्तै दुई महिला सदस्य पदमा पार्वती गिरी र दिलु शाही, सदस्य (बुटवल औद्योगिक क्षेत्र)मा प्रज्ज्वल थान्जु, बुटवल उपमहानगरपालिकातर्फ दुई जनामा नारायणप्रसाद खनाल र डिल्लीनारायण पाण्डे, सदस्य (तिलोत्तमा र ओमसतिया) तर्फ दुई जनामा घनश्याम पौडेल शर्मा र सतिश सापकोटा, सदस्य (देवदह नगरपालिका, रोहिणी गाउँपालिका)मा चक्रपाणि तिवारी, सदस्य (सैनामैना नगरपालिका, कञ्चन र गैडहवा गाउँपालिका)तर्फ कृष्णप्रसाद पोखरेल, सदस्य (शुद्धोधन र सियारी गाउँपालिका) बाट टंकनारायण आचार्य निर्वाचित भएका छन् ।

सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिकाबाट एकजना, लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई, समरीमाई र मर्चवारी गाउँपालिकाबाट एक जना निर्वाचित हुने भए पनि कसैको उम्मेदवारी नपरेकाले ती पद खाली रहेको निर्वाचन समितिले जनाएको छ ।

३३ सदस्यीय कार्यसमिति रहने संघमा ३१ जना अधिवेशनबाट निर्वाचित हुने र दुई जना अध्यक्षले मनोनीत गर्ने प्रावधान छ । खाली रहेका पदहरूमा समितिको पहिलो बैठकबाट मनोनीत गर्ने तयारी भएको छ । नवनिर्वाचित समितिको शनिबार नै पदस्थापन भएको छ ।

 शनिबार सम्पन्न साधारण सभामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्योग व्यवसायको प्रवर्द्धन र विकासका लागि उपमहानगरपालिका सदैव उद्योगीहरूको साथमा रहेको बताए । कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष विरेन्द्र पाण्डेले उद्योग व्यवसायको विकासका लागि सरकारको नीति स्पष्ट हुनुपर्ने बताए । सबैतिरबाट संकटमा परेका उद्योगीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने उनले बताए ।
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले उद्योग व्यवसायको विकास बिना मुलुक समृद्ध बन्न नसक्ने उल्लेख गर्दै सरकारी तहबाट भने उद्योग व्यवसाय मैत्री वातावरण बन्न नसकेको बताए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सरकारले उद्योग व्यवसाय मैत्री वातावरण निर्माण गर्न नसक्दा संचालनमा रहेका उद्योग बन्द हुने र नयां उद्योग स्थापना हुन नसक्ने अवस्था श्रृजना भएको धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही व्यापार संघका अध्यक्ष दिपक अधिकारी, पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेल, संघका अध्यक्ष दिलीप सापकोटा, वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, प्रथम उपाध्यक्ष जीवकान्त काफ्ले, महासचिव हिरामणी भट्टराईलगायतले आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए । साधारण सभाको बन्द सत्रले महासचिव हिरामणि भट्टराईले संस्थाको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष युवराज आचार्यले आर्थिक प्रतिवेदन पास गरेको थियो ।