२०८२ कार्तिक २५

‘स्वर्णविन्दु प्राशन’ अभियानमा सहभागिता बढ्दो
  • लुम्बिनी खोज
  • २०८२ कार्तिक २५, मंगलवार ११:३२ गते

बुटवल २५ कात्तिक ।
बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रियस्तरमा सुरु भएको ‘स्वर्णविन्दु प्राशन’ अभियानमा सहभागिता बढ्दै गएको छ । बुटवलमा असोज २९ बाट शुरु भएको यो अभियान अन्तरगत हरेक महिनाको पुष्य नक्षत्रका दिनमै अर्को मात्रा खुवाउनु पर्ने हुन्छ । सोही अनुसार कात्तिक २५ गते बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा अर्को मात्रा खुवाइएको छ । असोजको तुलनामा कात्तिकमा बालबालिकाको सहभागिता अत्याधिक धेरै रहेको छ । चिकित्सालयका सूचना अधिकारी वरिष्ठ कविराज गणेशप्रसाद सापकोटाका अनुसार असोजमा ३ सय ७० जना सहभागि भएकोमा कात्तिकमा ७ सय ८५ जना सहभागि भए । बुधवार बुटवल भन्दा बाहिरबाट पनि बालबालिकालाई ल्याइएको थियो । रुपन्देही, नवलपरासी जिल्लाका समेत बालबालिकालाई सहभागि गराइएको चिकित्सालयका वैद्य समेत रहेका योग अभियान्ता विष्णुहरी आचार्यले बताए । यसको महत्वबारे जानाकारी बढ्दै गएपछि सहभागिता बढ्दै गएको उनको भनाइ छ ।
लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा. कलावती विश्वकर्माले नेपाल सरकारले २५ वटा जिल्लामा यो अभियान शुरु गरेसगै लुम्बिनीका १२ वटै जिल्लामा लागु भएको भन्दै बुटवलमा सहभागिता बढ्दो रहेको बताउछिन् । लुम्बिनीका सबै जिल्लामा लागु अभियान सबैमा कार्यान्वयनमा गएपछि बाहिरी जिल्लाका बुटवलमा आउनुपर्ने समस्या हट्ने विश्वास ब्यक्त गर्दै उनले मंगलबारको सहभागिता निकै उत्साहजनक रहेको बताइन् ।
यो अभियान अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई यो थोपा खुवाइने गरिन्छ ।
‘स्वर्ण प्राशन’ कम्तीमा ३० मात्रा खुवाउँदा हुन्छ । आयुर्वेद शास्त्रअनुसार बिहानको समयमा खाली पेटमा स्वर्णविन्दु प्राशन खुवाउनु उपयुक्त हुने आयुर्वेद चिकित्सकहरूको भनाइ छ ।
दाङको बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयका बालरोग विशेषज्ञ डा. अर्जुनराज शर्माले अनुसार ‘स्वर्णविन्दु प्राशन’ पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’मा वर्णन गरिएको परम्परागत विधि हो । यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार छ । स्वर्णप्राशन घ्यु, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो । यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ ।
नेपालको आयुर्वेद चिकित्सामा यो औषधि राजपरिवारमा पहिलादेखि नै अभ्यासमा रहेको थियो । ब्राह्मी र शंखपुष्पी जस्ता जडीबुटीमा पाइने नूट्रोपिक्स र एड्याप्टोजेन्स जस्ता सक्रिय तत्वहरूले स्नायु कोषको रक्षा गर्ने र मस्तिष्कको सिक्ने क्षमतालाई बढाउने चिकित्सकहरु बताउछन् ।