२०८२ माघ १९

बुटवलमा पुसमा औद्योगिक प्रदर्शनी
  • लुम्बिनी खोज
  • २०८२ मंसिर २, मंगलवार १५:३६ गते

टवल २ मंसिर ।
रुपन्देही उद्योग संघले पुस महिनामा बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव– २०८२ आयोजना गर्ने भएको छ ।
संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरेर पुस ३ देखि १७ सम्म प्रदर्शनी गर्ने निश्चित भएको जनाएको छ । बुटवलमा क्रियाशील चार व्यवसायिक संस्थाबीच आलोपालोको समझदारीपछि यो वर्ष उद्योग संघले प्रदर्शनी आयोजना गर्ने भएको हो ।
संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले रुपन्देही उद्योग संघले राजधानी बाहिर व्यवस्थित र स्थापित रुपमा औद्योगिक प्रदर्शनी वि.सं.२०४५ सालदेखि थालनी गरेको र यो १६ औ चरणको भएको जनाए । “संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार”भन्ने मूल नाराका साथ पुस ३ देखि १७गते सम्म हुने औद्योगिक प्रदर्शनीमा सबै स्वदेशी उत्पादन मात्रै राखिने उनले प्रतिवद्धता जनाएका छन् । बुटवल मण्डपमा निर्माण हुंदै गरेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गरिने र प्रदर्शनी केन्द्रको भौतिक निर्माणको काम पूर्ण रुपमा अझै नसकिएकाले बन्दै गरेको संरचनाभित्र आधुनिक डिजाइनमा प्रदर्शनी आयोजना गरिने उनको भनाइ छ । यहाँ स्वदेशी उत्पादन, नयां प्रविधि, पर्यटन तथा कृषि उत्पादनको सहभागिताका लागि छुट्टाछुट्टै १० वटा पेभिलियनको व्यवस्था गरिने, आधुनिकस्तरकै स्टल निर्माण र सजावटदेखि व्यवस्थापन हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुने उनको दावी छ । प्रदर्शनी आयोजना स्थल यस पटकको प्रदर्शनीमा नेपाल उद्योग परिसंघले संचालन गरिरहेको मेक इन नेपाल अभियानलाई थप प्राथमिकताका साथ अगाडि बढाउने संघका महासचिव सुमन बस्यालले बताए । प्रदर्शनीका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी,नयां प्रविधिको खोजी,कला र संस्कृतिको जगेर्ना कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन,युवा उद्यमीलाई प्रोत्साहन,स्वरोजगार श्रृजना,गोष्ठी र अन्तक्र्रिया रहने उनको भनाइ छ ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी,छाला जुत्ता, खाद्यान्न, आइटी लगायतका करिव ५०० स्टलहरु रहने उनले जनाए । प्रदर्शनी सम्पन्न गर्नका लागि रुपन्देही उद्योग संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहाकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उपसमितिहरु गठन गरिने जानकारी गराउँदछौ । प्रदर्शनीको करिव ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको कारोवार हुने अनुमान गरिएको संघले जनाएको छ ।
बुटवल मण्डपमा सचिवालय स्थापना गरी मंसिर ७ गतेदेखि सेवा आरम्भ हुने संघका कार्यकारी अधिकृत यादव भण्डारीले जनाए ।