२०८२ मंसिर १२
बुटवल १२ मंसिर ।
रुपन्देही उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डपमा संचालन गर्न लागेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव—२०८२ का लागि स्टल दर्ताको काम धमाधम भइरहेको छ । जम्मा ५ सय स्टल रहने यो प्रदर्शनीमा अहिलेसम्म साढे २ सय स्टल दर्ता भइसकेको र होटल, गार्मेन्ट उद्योग सहितका पेभेलियन पूरा भइसकेको वरिष्ठ उपाध्यक्ष, मूल समिति सहसंयोजक एवं स्टल दर्ता उपसमिति संयोजक जीवकान्त काफ्लेले जानकारी दिए । बुटवल मण्डपमा निर्माणाधीन आधुनिक प्रदर्शनी स्थलमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनको सहभागिताका लागि छुट्टाछुट्टै १० वटा पेभिलियनको व्यवस्था गरिएको र यस क्षेत्रमा निर्माणधीन आधुनिक प्रदर्शनी स्थलमा आधुनिक स्तरकै स्टल निर्माण हुने काफ्लेले बताए । यसको सजावटदेखि व्यवस्थापन हालसम्म आयोजना भएका प्रदर्शनी भन्दा धेरै भिन्न हुने उनको भनाई छ । काफ्लेका अनुसार प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, आइटी लगायतका करिव ५ सय स्टलहरु रहनेछन्
मंगलबार बसेको कार्यसमितिको बैठकले पदाधिकारी तथा सदस्यहरु सबैलाई विभिन्न उपसमितिको जिम्मेवारी दिइएको अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिए । अध्यक्ष पराजुली, द्वितीय उपाध्यक्ष युवराज आचार्य, प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी काठमाडौका विभिन्न कामको संयोजनका लागि गएका छन् । नेपाल उद्योग परिसंघ, उद्योग मन्त्रालय, शहरी विकास मन्त्रालय, घरेलु तथा साना उद्योग विभाग, नेपाल पर्यटन बोर्ड, बालाजु औद्योगिक क्षेत्र मन्त्रालय सहितका विभिन्न सरकारी तथा संस्थागत कार्यालयहरुमा समन्वयका लागि गएको र केही ठूला उद्योगहरुसँग प्रदर्शनीका लागि कुराकानी गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए ।
संघको आयोजनामा “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ बुटवल मण्डपमा निर्माण हुँदै गरेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा प्रदर्शनी आयोजना गरिएको र प्रदर्शनी केन्द्रको भौतिक निर्माणको काम पूर्ण रुपमा अझै नसकिएकोले बन्दै गरेको संरचनाभित्र आधुनिक डिजाइनमा प्रदर्शनी आयोजना गर्न गइरहेको महासचिव सुमन बस्यालले बताए ।
संघले २०४५ सालमा पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनीे आयोजना गर्दै आइरहेको छ । प्रदर्शनीलाई मनोरन्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्यकलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, कलेजस्तरीय अन्तरकलेज वतृत्वकला प्रतियोगिता, लोक भजन प्रतियोगिता, प्रदर्शनी आइडल लगायतका प्रतियोगिताहरु रहने छन् ।
प्रदर्शनी सम्पन्न गर्नका लागि रुपन्देही उद्योग संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ र प्रदर्शनीको करिब ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको कारोवार हुने अनुमान गरिएको प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले बताए ।
यस पटकको प्रदर्शनीमा नेपाल उद्योग परिसंघले संचालन गरिरहेको मेक इन नेपाल अभियानलाई थप प्राथमिकताका साथ अगाडि बढाउने र नेपाली उत्पादनलाई मात्रै स्थान दिने प्रथम उपाध्यक्ष, मूल समिति सहसंयोजक एवं स्टल व्यवस्थापन तथा अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीले बताए ।