२०८२ मंसिर १५

रूपन्देही उद्योग संघको ४८ औँ स्थापना दिवसमा रक्तदान
  • लुम्बिनी खोज
  • २०८२ मंसिर १५, सोमबार ११:३५ गते

बुटवल १५ मंसिर ।
रूपन्देही उद्योग संघको ४८ औं स्थापना एवं औद्योगिक दिवस–२०८२ को अवसरमा शुक्रबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ बुटवलको सहकार्यमा आयोजित कार्यक्रममा उद्योगी–व्यवसायी, सामाजिक अभियन्ता, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
उद्योग संघले पुस ३ गतेदेखि १७ गतेसम्म १६ औं औद्योगिक प्रदर्शनी बुटवल मण्डपमा गर्न सचिवालय राखेकाले रक्तदान पनि बुटवल मण्डपमै गरिएको थियो । रक्तदान कार्यक्रमबाट ३० यूनिट रगत संकलन भएको संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले जानकारी दिए ।
कार्यक्रमका संघका पूर्वअध्यक्ष बाबुराम बोहोराले उद्योगी–व्यवसायी समाजका हरेक काममा साथ दिन तयार रहेको सन्देश यस्ता कार्यक्रमले दिने बताए । ४८ वर्षअघि अग्रजहरूले कल्पना गरेको संघ अहिले महत्वपूर्ण उपलब्धि सहित अगाडि बढेको उल्लेख गर्दै उनले नियमित सामाजिक उत्तरदायित्वमा संघको भूमिका अझ प्रभावकारी बनाउन आग्रह गरे ।
नेपाल नियमित रक्तदाता संघ रूपन्देहीका अध्यक्ष कृष्ण चौहानले हरेक संघ–संस्थाले रक्तदानलाई नियमित कार्यक्रमका रूपमा समावेश गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष दिलिप सापकोटा, पूर्व अध्यक्ष माधव पौडेल, रोटरी बुटवलका पूर्व अध्यक्ष कृष्ण प्रसाद अर्याल, रक्त सञ्चार सेवा केन्द्र बुटवलका प्रतिनिधि निमिता पाण्डेलगायतले रगत अभाव हटाउन यस्ता सामाजिक अभियानलाई सबै संस्थाले निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रम संयोजक सतिष सापकोटाले संघले व्यावसायिक हकहितसँगै सामाजिक उत्तरदायित्वका गतिविधिमा निरन्तर सक्रिय रहेको भन्दै उद्योग तथा उद्योगमा कार्यरत मजदुर र सर्वसाधारणलाई रगत अभावमा समस्या नहोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
संघका प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीले उद्योग संघले गर्न लागेका नियमित गतिविधिमा रक्तदानलाई स्थायी रूपमा समावेश गरिएको भन्दै रचनात्मक कार्यमा साथ र सहयोग प्रदान गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरे ।