२०८२ मंसिर २२
रुपन्देही २१ मंसिर ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले रुख र माटो चोरी गर्ने गिरोहलाई समातेको छ । नगरपालिकाको स्वामित्वमा रहेको ओमसतिया– ५, पट्खौलीको जाग्गाबाट माटो चोरी गर्ने र रुख कटान गरी गैरकानुनी रूपमा काम गरिरहेको गिरोहलाई समातेर नगरपालिकाले थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पठाएको छ ।
रुपन्देहीको ओमसतिया गाउँपालिका– ५ मा पर्ने नगरपालिकाको नाममा दर्ता रहेको ६ बिघा जग्गाबाट अवैध रूपमा ठुला–ठुला रुख कटान गरी माटो ओसारपसार गर्दै गर्दा नगर प्रहरीले नेपाल प्रहरीको सहयोगमा तीनजनालाई नियन्त्रणमा लिएको थियो । सो गिरोहका एकजना फरार रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार शुक्रबार साँझ करिब ५ बजेतिर लु।१त १६६ नम्बरको ट्र्याक्टर प्रयोग गरी उक्त जग्गामा रहेका रुख कटान तथा माटो निकासी भइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
ओमसतिया– ५, गौरी बस्ने अन्दाजी २७ वर्षीय छोटु भन्ने जयप्रकाश यादव, सोही ठाउँ बस्ने अन्दाजी ५३ वर्षीय जगदीश कोइरी पक्राउ परेका थिए । सिद्धार्थनगर नगरपालिका– ८ बस्ने अन्दाजी ३७ वर्षीय अनिलकुमार सर्राफ भने फरार रहेका छन् ।
ट्र्याक्टरसहित उनीहरूलाई सोही दिन जिल्ला प्रहरी कार्यालय रुपन्देही बुझाइएको थियो । त्यसलगत्तै सिद्धार्थनगर नगरपालिकाले उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीले जानकारी दिए । नगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गाबाट लामो समयदेखि निरन्तर रूपमा रुख कटान र माटो उत्खनन गरी अवैध निकासी भइरहेको थियो ।
पक्राउ परेकाहरूबाहेक फरार व्यक्तिलाई पनि खोजी गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने, काटिएका रुख र निकालिएको माटोको मूल्यांकन गरी क्षतिपूर्ति भराइदिनुपर्ने तथा प्रचलित कानुनबमोजिम जरिवाना गर्नुपर्ने कुरा नगरपालिकाले उठाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले सिनपाले समातेर तीनजनालाई बुझाएको र यसबारेमा कारबाही अगाडि बढाउनेबारे परामर्शमा रहेको बताए ।