२०८२ मंसिर २४
बुटवल, २३ मंसिर ।
रुपन्देहीका उद्योगी–व्यवसायी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले दशकौंदेखि बुटवलको पुसे औद्योगिक प्रदर्शनी तथा महोत्सवले आफ्नो ब्राण्ड बनाएकोले त्यसलाई कायम राख्न अहिलेको आयोजक संस्था रुपन्देही उद्योग संघलाई सुझाव दिँदै सहकार्यका लागि तयार रहेको प्रतिवद्धता जनाएका छन् । उनीहरुले पुसको प्रदर्शनी यो क्षेत्रको व्यवसायिक पहिचान मात्रै नभएर बलियो ब्राण्ड भएकाले पनि यसमा कुनै स्तर कम नहुनेगरी स्टलहरुलाई सहभागी गराउन र त्यसको आन्तरिक व्यवस्थापनमा चुस्त योजना बनाउन सुझाएका हुन ।
पुस ३ गतेदेखि १७ गतेसम्म बुटवल मण्डमा संघले आयोजना गर्नलागेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवका विषयमा यस क्षेत्रमा रहेका संघसंस्थाहरुसँगको अन्तरसंवादमा सहभागीहरुले यहाँबाट सुरु भएको प्रदर्शनी र महोत्सवको पहिचान अहिले देशैभरी भएपनि यो तहमा कसैले गर्न नसकेकोले अझै त्यसमा परिस्कृत गराउनेगरी योजना बनाउन र बुटवल क्षेत्रलाई दीर्घकालीन रुपमा पर्यटन र प्रविधिमा प्रभाव पार्नेखालका कार्यक्रम अघि सार्न आग्रह गर्दै त्यसमा हातेमालो गर्न तयार रहेको प्रतिवद्धता जनाएका हु्न ।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ नारा राखेर संघले आयोजना गर्न लागेको यो प्रदर्शनीमा स्वदेशी मात्रै उद्योगहरुलाई राख्ने प्रतिवद्धतालाई सम्मान गर्दै किर्ते स्टल राखेर बाहिर उत्पादन भएका वस्तु बिक्री नगराउन र समय गुज्रेका वस्तुहरु बेच्ने ठाउँको रुपमा विकास गर्ने वातावरण रोक्न उनीहरुको आग्रह थियो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले नवप्रद्धर्दनमा जोडिएका युवा उद्यमीहरुलाई सहभागी गराएर अहिले बढिरहेको निराशा अवलोकनकर्तामार्फत चिर्नुपर्ने बताउँदै हिजोको ब्राण्ड जोगाएर व्यवस्थापकीय विषयलाई ध्यान दिँदै संस्थागत सहकार्यबाट अघि बढ्न सुझाव दिए ।
रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले प्रदर्शनीमा पर्यटन पनि विशेष प्राथमिकताका साथ जोडिएकाले यसको प्याकेज योजना बनाउनुपर्ने र छिमेकी देश भारतमा समेत प्रचार बढाएर जानुपर्ने बताए ।
बुटवल उद्योग व्यापार संगठनका अध्यक्ष विष्णु पाण्डेले नारामा जस्तै स्वदेशी उत्पादनको प्रवद्र्धनको विषयलाई कार्यान्वयनमा ध्यान दिनुपर्ने जनाउँदै संस्थागत सहकार्यका लागि प्रतिवद्धता जनाए । पश्चिम नेपाल बस व्यसायी प्रालिका अध्यक्ष दधिराम खरेलले प्रदर्शनी अवधिमा बसका रुटहरु बनाएर अवलोकनकर्तालाई सहज बनाउने प्रतिवद्धता जनाउँदै यो प्रदर्शनी आयोजकको मात्रै नभएको सिंगो बुटवलको पहिचान बनाउनेगरी अघि बढ्न आग्रह गरे । मणिमुकुन्द सेन उद्यानका अध्यक्ष तथा पर्यटन व्यवसायी माधव नेपालले उद्योग संघले स्वास्थ्य क्षेत्रमा मुटु अस्पतालको स्थापना गरेर उदाहरणीय काम गरेको बताउँदै यस्तैगरी अब पर्यटनका क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने योजना बनाउन र त्यसमा आफूले हातेमालो गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सिएनआईवाइइएफका राजन कसजूले युवा उद्यमी बढी सहभागी गराउन र प्रदर्शनी प्रवेशद्वारबाटै स्मार्ट बनाएर जान सुझाव दिए । उपभोक्त हित संरक्षण मन्चका बुटवल अध्यक्ष समुन्द्र जिसीले प्रदर्शनी र महोत्सवका नाममा म्याद गुज्रेका वस्तु बिक्री गर्ने र खाद्यवस्तु बेच्नेहरुलाई प्रवेश निषेधको योजना बनाउनु सुझाव दिए ।
कार्यक्रममा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवाल, आयुर्वेद औषधि व्यवसायी संघका डा. डिके धिताल, क्यानका जीवन अधिकारी, मिष्ठान्न तथा क्याटरिङ व्यवसायी संघका कमल पोखरेल, होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनाल, देवदह व्यापार संघका माधव ढकाल, तिलोत्तमा व्यापारसंघका नेत्रप्रसाद न्यौपाने, सैनामैना उद्योग वाणिज्य संघका कृष्ण पोखरेल, व्यापार संघका सुरेन्द्र पौडेल, ढुवानी व्यवसायी संघका अनिल श्रेष्ठ, पेट्रोलिय डिलर्सका सचिव डाँसिराम अधिकारी, सुनचाँदी व्यवसायी संघ बुटवलका अध्यक्ष गकुल बिश्वकर्मा, नेपाल उद्योगी व्यवसायी महासंघका माधव रेग्मी, रुपन्देही मिल व्यवसायी संघका अध्यक्ष गंगाधर भुसालले विभिन्न सुझाव दिएका थिए ।
सङ्घले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएको छ । संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षता र महासचिव सुमन बस्यालको संचालनमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष दिलिप सापकोटाले संघले आयोजना गरेपनि यो यहाँका सबै संस्थाको अपनत्व रहेको बताउँदै यहाँ आउने अवलोकनकर्तालाई एकरात बुटवल बसाउने र यो क्षेत्रका पर्यटकीय क्षेत्र घुमाउने योजना पर्यटन व्यवसायी, बस व्यवसायी, रिक्सा व्यवसायीसहित सबैको समन्वयमा हुनुपर्ने जनाए । बुटवलस्थित अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरूका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन हुने र त्यसमा यस क्षेत्रका सबै संघसंस्थाहरुबाट आएको सुझावका आधारमा अघि बढ्ने उपाध्यक्ष हरिबहादुर खत्रीले बताए ।
