२०८२ माघ २२
बुटवल, १ पुस ।
बुटवल उपमहानगरपालिका मातहतमा रहेको नगर खेलकुद विकास समिति बुटवलको आयोजनामा अन्तरविद्यालय स्तरीय छात्र–छात्रा कबड्डी प्रतियोगिता २०८२ को समापन मङ्गलबार भएको छ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ रूपन्देही जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा सम्पन्न खेलमा छात्र तथा छात्रातर्फ दुवै खेलमा न्यू होराइजन मावि प्रथम ,छात्रतर्फ दीप बोर्डिङ स्कुल द्वितीय, छात्रातर्फ कालिका मानवज्ञान मावि द्वितीय र छात्रतर्फ नवीन औद्योगिक कदरबहादुर रिता मावि र गार्गी एकेडेमी तृतीय छात्रातर्फ ईडन बोर्डिङ स्कुल र अक्सफोर्ड मावि तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई २०,००० १०,००० र ५००० नगद पुरस्कार प्रदान गरिएको थियो। खेलमा छात्रतर्फ उत्कृष्ट रेडर दुर्गाबहादुर राना छात्रातर्फ उत्कृष्ट रेडर क्रिस्टिना श्रेष्ठ, छात्रतर्फ उत्कृष्ट डिफेन्डर विमर्श भट्टराई, छात्रातर्फ उत्कृष्ट डिफेन्डर सन्ध्या सार्की लगायतलाई जनही १००० पुरस्कार समेत वितरण गरिएको कार्यक्रममा सहभागी नवीन औद्योगिक कदर बहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले जानाकारी दिए ।
बुटवल उपमहानगरपालिकाले देशभरका पालिकाहरूमा भन्दा खेल विधाको विकास, विस्तार र प्रोत्साहन विद्यालयतहबाट नै उत्पादन गर्नुपर्छ भन्ने मान्यता राखी खेल क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्ने गरेको छ। खेल सञ्चालनको समयमा खेलाडीहरूको बीमा गर्ने, नगद पुरस्कारले सम्मानसमेत गर्ने गरेको छ । जुन देशका अन्य पालिकाहरूको लागि पनि अनुकरण योग्य रहेको छ।
नगर खेलकुद विकास समिति बुटवलका संयोजक तथा युवा व्यवसायी बोनिन पियाको अध्यक्षतामा बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा पूर्व फुटबलका खेलाडी, खेलप्रेमी व्यक्तित्व हरिप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्यहरू, नगर खेलकुद विकास समितिका पदाधिकारीहरू, युवा खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रमुख कमला चुदाली लगायतले पुरस्कार वितरण गरेको कार्यक्रमको सञ्चालन नगर खेलकुद विकास समितिका सदस्य शेरजंग गुरुङले गरेका थिए ।
