२०८२ पुष २

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा, ३० करोडको कारोबार हुने अनुमान
  • लुम्बिनी खोज
  • २०८२ पुष १, मंगलवार १४:०५ गते

बुटवल १ पुस ।
रुपन्देही उद्योग संघले बुटवलमा गर्न लागेको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । संघले समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार भन्ने नाराका साथ यहि पुस ३ गतेदेखि १७ गतेसम्म १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्दैछ ।
संघले मंगलबार पत्रकार सम्मेलन गरि प्रदर्शनीको तयारी पूरा भएको जानकारी गराएको हो । बुटवलस्थित अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयां प्रविधि, पर्यटन तथा कृषि उत्पादनसंग सम्बन्धित बस्तुहरुका ५ सय स्टल रहनेछन् । पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले प्रदर्शनीमा छुट्टाछुट्टै १० वटा पेभिलियनमा स्वदेशी उत्पादनका विभिन्न स्टलहरु समावेश गरिने जानकारी दिए । निर्माणाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुन गइरहेको औद्योगिक प्रदर्शनी आधुनिकस्तरकै स्टल समावेश हुने र सजावटदेखि व्यवस्थापन सम्म हालसम्म आयोजना भएका प्रदर्शनीभन्दा धेरै भिन्न हुने उनले बताए। अध्यक्ष पराजुलीले स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताए । उनका अनुसार यसपटकको प्रदर्शनीमा नेपाल उद्योग परिसंघले संचालन गरिरहेको मेक इन नेपाल स्वदेशी अभियानलाई थप प्राथमिकताका साथ अगाडि बढाइने छ । प्रर्दशनीको मुख्य उद्देश्य नै स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने भएकाले प्रदर्शनीमा स्वदेशी उत्पादन मात्रै समावेश हुने पराजुलीले बताए । औद्योगिक प्रदर्शनीको तयारीको क्रममा बुधवार दिउसो जनचेतनामुलक र्‍याली आयोजना गरिएको प्रचार संयोजक ई किरण खरेलले जानकारी दिए । यसपटकको औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा फोटो प्रदर्शनीसमेत आयोजना हुंदै छ । संघका महासचिव सुमन बस्यालले संघले २०४५ सालमा नेपालमै पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आइरहेको जानकारी दिए । महासचिव बस्यालले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको औद्योगिक व्यवसायको संरक्षण, सम्वद्र्धन र विकास जरुरी रहेको उल्लेख गर्दै यसका लागि स्वदेशी उत्पादनको प्रयोगलाई सबैले प्राथमिकता दिन आवश्यक रहेको बताए । संघले आयोजना गर्ने औद्योगिक प्रदर्शनीको माध्यमबाट स्वदेशी उत्पादनलाई उपभोक्तासँग सोझो सम्पर्क स्थापना गराउंदै नयां उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुग्ने विश्वास गरिएको छ । प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनीसँगै नयां प्रविधिको खोजी, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, कला र संस्कृतिको जगेर्ना, गोष्ठी तथा अन्तक्र्रियासमेत आयोजना हुने छन् । करिव ८ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको प्रदर्शनीमा ३० करोड रुपैयां बराबरको कारोवार हुने अनुमान गरिएको छ ।