२०८२ पुष ३
बुटवल ३ पुस ।
रुपन्देही उद्योग संघको आयोजनामा बिहिवारदेखि बुटवलमा १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधी तथा पर्यटन महोत्सव २०८२ सुरु भएको छ । प्रर्दशनीको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गरेका छन् । पुस ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५ सय स्वदेशी उद्योग मात्र रहेको आयोजक रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले जानकारी दिए । प्रर्दशनीले यस क्षेत्रको आर्थिक गतिविधिमा टेवा पु¥याउने धारणा पनि उनले राखे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे, पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र कुमार पाण्डे, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, उद्योग परिसंघका एजाज आलम, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, रुपन्देही पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डेलगायतले आर्थिक क्षेत्रका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा उत्कृष्ण औद्योगिक पत्रकारिता पुरस्कार ०८१ बाट पत्रकार प्रकाश आचार्य पुरस्कृत भएको महासचिव सुमन बस्यालले जानकारी दिए ।
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ प्रर्दशनी संचालन भएको बस्यालले बताए । प्रदर्शनीमा ८ लाख दर्शकले अवलोलकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको प्रर्दशनी प्रबन्धक यादव भण्डारीले जानकारी दिए । प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फलोरीकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका स्टल रहेका छन् । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगिता लगायतका प्रतियोगिताहरु सञ्चालन गरिने आयोजकले जनाएका छन् ।
प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदान–प्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने,अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिने जनायएको छ ।
