२०८२ पुष २१

नीजि क्षेत्रको मनोबल माथि उठाउने कार्यक्रम आवश्यक रहेकोमा जोड
  • लुम्बिनी खोज
  • २०८२ पुष १९, शनिबार १५:४० गते

बुटवल १९ पुस ।
नीजि क्षेत्रको मनोवल बढाउने कार्यक्रम अहिलेको आवश्यकता भएकोमा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् । उद्योग ब्यापार संघ बुटवलको सातौं वार्षिक साधारणसभामा रुपन्देहीका अगुवा व्यवसायीहरुले अस्थीरता सगै विभिन्न क्षेत्रबाट हुने आक्रमणका कारण्(ा नीजि क्षेत्रको मनोवल कमजोर हुदै गएको धारणा राख्दै मनोवल बढाउने गरी सरकार अगाडी बढ्नजुपर्नेमा जोड दिएका छन् । त्यस्तै विभिन्न आन्दोलनले राजनीतिक व्यवस्था परिवर्तन भएपनि अर्थतन्त्रमा अपेक्षा गरेअनुसार सुधार हुन नसकेको धारणा राख्दै उनीहरुले अर्थतन्त्रमा परिपर्तन ल्याउनुपर्नेमा जोड पनि दिएका छन् । समतामूलक र समाजवादी अर्थ व्यवस्था निर्माणमा सरकार र दलहरुको ध्यान जानुपर्ने धारणा पनि उनीहरुले राखेका छन् ।
कार्यक्रममा वोल्दै नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले ंसरकारले कर र भन्सार नीतिमा सुधार ल्याउनुपर्ने साना तथा मझौला व्यवसायीमैत्री हुनुपर्ने बताए । सरकारले तथ्यांक विश्लेषण गरेर आयात नीति बनाउन अपरिहार्य रहेकोमा उनले जोड दिए । संविधानले नै स्पष्ट उल्लेख गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सरकार र राजनीतिक दलहरुले ध्यान नदिएको महासचिव पराजुलीले गुनासो गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समग्र नीजि क्षेत्र फस्टाए मात्र देशको आर्थिक समृद्धि सम्भव हुने धारणा राखे । उनले बुटवललाई संवृद्ध बुटवल बनाउन सबै लागि पर्नुपर्नेमा जोड पनि दिए ।
कार्यक्रममा उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संघले व्यवसायीका हक हितसंगै स्थानीय सरकारसंग सहकार्य गरेर विभिन्न सामाजिक काम गर्दै आएको बताए । उनले संघको सचिवालय भवनका लागि जग्गा व्यवस्थापनमा सहयोग गरिदिन उपमहानगरसंग आग्रह गरे ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष गणेश अधिकारी, नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय सदस्य गोविन्दराज गैरे, संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जीसी, महासचिव यमलाल मरासिनी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, युवराज पराजुली लगायतले बोल्दै जेन जी विद्रोहपछि खस्केको निजी क्षेत्रको मनोबल माथि उठाउन सरकारले विशेष नीति,योजना र कार्यक्रम बनाउनुपर्ने बताए ।
साधारणसभाका अवसरमा उद्योग ब्यापार संघ बुटवलले उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार पत्रकार यमलाल भुसाललाई प्रदान गरेको छ । ३० वर्षदेखि बुटवलमा क्रियाशील पत्रकार भुसाललाई नगद २७ हजार ५ सय रुपैयां र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै पत्रकारहरु डा. बालकृष्ण चापागाई, दामोदर खनाल र यानेन्द्र जीसीलाई कदरपत्रले सम्मान गरिएको छ । यस्तै संघले व्यवसायी मदनकुमार पुन, बसन्तप्रताप सेन र विष्णुप्रसाद भण्डारीलाई उत्कृष्ट अग्रज व्यवसायीका रुपमा सम्मान गरेको छ ।