२०८२ पुष २७

बुटवल औद्योगिक क्षेत्र उद्योग संघको साधारणसभाः उद्योग नीतिहरुमा परिर्वतन गर्न आग्रह
  • लुम्बिनी खोज
  • २०८२ पुष २६, शनिबार १५:३१ गते

बुटवल, २६ पुस ।
नेपालको औद्योगिक विकासका लागि पुराना उद्योग विरोधि नीतिहरुमा परिर्वतन गरि नयाँ ढंगले औद्योगगिक विकासमा अगाडी बढ्नुको विकल्प नभएको सो क्षेत्रका अगुवाहरुले सुझाव दिएका छन् । उनीहरुले नयाँ औद्योगिक क्षेत्रको निमार्ण र त्यसको उपयोगका लागि ठोस पहल हुनु जरुरी भएको कुरामा पनि जोड दिएका छन् ।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २४ औं बार्षिक साधारणसभाका अवसरमा बोल्ने बक्ताहरुले औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालन गर्न निकै कठिन हुदै गएको हुदा त्यसको समाधान गर्ने प्रति सरकारले ध्यान दिन आग्रह पनि गरेका छन् । उनीहरुले बर्षौदेखि जग्गाको कमी, चर्को भाडा, विद्युत पानीको अनियमितता, सुरक्षाको अभाव लगायतका उहि पुरानै मुद्दाहरु उठाइरनु पर्ने अवस्था रहेको भन्दा चिन्ता व्यक्त गरेका छन् । औद्योगिक क्षेत्रको विकास र संरक्षणका लागि उनीहरुले प्रदेशभित्रका औद्योगिक क्षेत्रहरुको सञ्चालनको जिम्मेवारी प्रदेश सरकार लिनु पर्ने माग अगाडी सारेका छन् ।
जग्गाको अभावले त्यहा रहेका उद्योगहरुले आफ्नो क्षमता अनुसारको उत्पादन गर्न तथा औद्योगिक क्षेत्रको समग्र विकासमा बाधा उत्पन्न भएको उद्योगीहरुले बताएका छन् । लामो समयसम्म पनि औद्योगिक क्षेत्रको स्तरबृद्धिका बारेमा योजनाबद्ध काम हुन नसकेको र त्यसले समग्र यस क्षेत्रको औद्योगिक विकासमा नै प्रभाव पारेको उनीहरुको भनाई छ ।
उद्योगीहरुले स्वदेशी उद्योगको संरक्षण र प्रर्वद्धन विना अर्थतन्त्रको विकास हुन नसक्ने हुदा उद्योग सञ्चालनका लागि औद्योगिक क्षेत्रहरुको विस्तार र विकास जरुरी रहेको बताएका थिए । उनीहरुले बुटवल औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुले जग्गाको अभाव झेलीरहेका छन् भने त्यही बुटवल धागो कारखानाले ओगटेको जग्गा प्रयोग विहिन बनेको अवस्था रहेको बताए ।
बुटवल औद्योगिक क्षेत्रको शौन्दर्यकरण, बाटो लगायतका भौतिक संरचनाहरुको निमार्ण, स्तरबृद्धि तथा उद्योग सञ्चालनका लागि थप जग्गाको व्यवस्थाको काम अगाडी बढाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई आग्रह गरिएको थियो ।
साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले मुलुकको औद्योगिक विकासका लागि सबैले सकारात्मक सोंच बनाएर अगाडी बढ्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका केन्द्रीय अध्यक्ष एजाज आलमले उद्योगीहरुको संयमतालाई कमजोरी नठान्न आग्रह गर्दै राज्यसंग स्पष्ट निती र नेतृत्वको अभावका कारण उद्योगीहरुले सधै समस्या झेल्नु परेको बताए ।
नेपाल चेम्वर अफ कर्मशका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले उद्योगीहरुका समस्यालाई सम्बोधन गर्नका लागि ठोस कार्ययोजना र मार्ग तयार गरि अगाडी बढ्न आग्रह गरे ।
कार्यक्रममा संघका अध्यक्ष उपेन्द्र अग्रवालले संस्थागत धारणा राख्दै औद्योगिक क्षेत्रको विकासका लागि सोंच र नितिमा नै परिर्वतन जरुरी भएको बताउदै जग्गाको अभाव पुरा गर्न एवं उद्योगीहरुलाई दिनु पर्ने सहुलियत सुविधाहरुका बारेमा सरकारले छिटोछरितो काम गर्नु पर्ने धारणा राखे ।
अध्यक्ष अग्रवालले उद्योगीहरु सधै आशावादी बनेर समस्याहरुसंग जुध्दै काम गरिरहेको उल्लेख गर्दै छिमेकि राष्ट्रहरुमा उद्योग सञ्चालनमा राज्यले अपनाउदै आएका सकारात्मक विधिहरु सिको गर्नु पर्ने सुझाव दिए ।
संघका अध्यक्ष उपेन्द्र अग्रवालको अध्यक्षता, महासचिव कमल ज्ञवालीको सञ्चालन तथा उपाध्यक्ष्ँ प्रज्वल थान्जुको स्वागतमा भएको कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुली, नेपाल पत्रकार महासंघका अध्यक्ष दिनेश पाण्डे, संघका पूर्व अध्यक्ष गणेशप्रसाद अधिकारी, बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख दिपक आचार्य लगायत औद्योगिक क्षेत्रका बारमा चर्चा गरेका थिए ।
सो अवसरमा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरुमा कार्यरत मजदुरहरुका जेहेन्दार तथा कमजोर ३ जना छोराछोरीहरुलाई नगदसहित शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।