२०८२ माघ १

रुरुधाममा ५ दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
  • लुम्बिनी खोज
  • २०८२ माघ १, बिहीबार १२:२८ गते

बुटवल, १ माघ ।
पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको बिहिबार पहिलो दिन कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेश मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको थियो ।
रुरु क्षेत्रमा रहेको कालिगण्डकी नदी तटमा स्नान गरी ऋषिकेश मन्दिरमा पूजा गर्नाले पुण्यलाभ प्राप्त हुनुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएकाले माघे सङ्क्रान्तिमा भक्तजनको घुइँचो लाग्ने गरेको स्थानीयको भनाइ रहेको छ । रुरु धाम क्षेत्रको कालीगण्डकी नदीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण, ऋषि ऋण तिरिने धार्मिक विश्वास छ । सोही अवसरमा श्रद्धालुहरूको भीड लाग्ने गर्दछ । माघे संक्रान्तिमा रिडीमा आफ्ना
पितृहरूलाई पिण्ड दिनेहरूको समेत भीड लाग्ने गर्दछ । रिडीमा आफ्ना पितृहरूलाई सम्झेर तिथि श्राद्ध गर्नाले काशी–गया पुगेर दिए सरह फल प्राप्त हुने शास्त्रमा उल्लेख छ ।

रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण मानिन्छ । रिडी क्षेत्रमा प्राचीन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक विश्वास रहेको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष परशुराम भट्टराईले बताए ।
परम्परादेखि नै रिडीमा माघ १, २ र ३ गते पहिलो दिन जेठी, दोस्रो दिन माहिली, तेस्रो दिन कान्छी सङ्क्रान्ति मेला लाग्ने गरेको छ । संक्रान्ति मेलासँगै व्यापार–व्यवसाय गर्न पाल्पा, बागलुङ, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ लगायतका स्थानबाट घरेलु सामग्री बिक्रीको लागि व्यापारीहरू आइसकेका छन् । रोप्पा, रुकुम सल्यान, प्युठान, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङमा उत्पादन हुने ऊनीजन्य बस्तुहरू राडीपाखी, कम्बल, बाँसको सामग्रीहरू, जडीबुटीहरू बिक्री गर्न व्यापारीहरू आइतबारदेखि नै रिडीमा आइसकेको रुरु फ्रेन्डस् क्लबका अध्यक्ष सोभित थापाले बताए