२०८२ माघ ७

विषादी उत्पादक नै विषादी विरुद्धको अभियानमा
  • लुम्बिनी खोज
  • २०८२ माघ ७, बुधबार ०९:१८ गते

बुटवल

नेपालमा पछिल्लो समय खाद्यबालीमा  विषादीको  प्रयोग बढिरहेको अवस्थामा विषादी उत्पादक नै विषादी विरुद्धको अभियानमा लागेका छन् । बढ्दो विषादीको प्रयोगले पारेको असरबारेमा आम रुपमा कम जानाकारी रहेको ठानेर विषादी विरुद्धको अभियानमा लागेको उत्पादकको भनाइ छ ।  विषादीयुक्त खाद्य पदार्थ कुन हुनसक्छन् र त्यस्ता खाद्यपदार्थको कसरी प्रयोग गर्ने बारेको ज्ञानको कमीले मानव जीवनमा गंभिर समस्यााहरु सिर्जना भएका तथ्यहरु सार्वजनिक हुन थालेपछि यस विरुद्ध अभियानमा लागेको उनको भनाइ छ ।
विषादी उत्पादनबाट २–४ करोड कमाइ त भएको छ, तर जथाभावी प्रयोग र यसले पारेको असरबारेका खबरले मन खिन्न भएपछि जथाभावि प्रयोगका विरुद्धको अभियानमा लागेको हुं, भान्सामा विषादी प्रवेशको रोकथामका उपायहरु समाजलाई वाड्ने अभियानमा लागेका हुमकान्त काफ्लेले भने , विषादीको प्रयोग कसरी गर्ने र विषादी प्रयोग भएको खाद्यबाली कहिले कसरी उपयोग गर्ने भन्ने ज्ञानको कमीले धेरै असर पारेको मैलले ठानेको छु ।
बुटवलका बासिन्दा काफ्लेले चितवनमा विषादी उत्पादन गर्ने उद्योग सञ्चालन गर्दै आएका छन् । विषादी उत्पादन गरेर किसानहरुलाई विक्रि गर्दाका अनेक अनुभव सगालेका काफ्लेले भने, किसानले आज खरिद गरेर लगेको विषादी प्रयोग गरेको दुइ दिन नहुदै तरकारी तथा फलफूल बजारमा विक्रिका लागि ल्याउने गरेको पाए । जुन विषादी प्रयोग गरेको १५  दिनसम्म खानका लागि उपयुक्त मानिदैन् ती बस्तुहरु विक्रिका लागि ल्याएको पाए । कुनै कुनै तरकारीमा प्रयोग भएको विषादी त गन्धबाट पनि थाहा पाए । त्यस्ता तरकारीहरु उपयोग गर्ने आम उपभोक्तालाई विषादीको बारेमा प्राप्त ज्ञान नहुने हुदा आफूले जानेको कुरा बताउन अभियानमा लागेको हो ।
उनले केही महिना देखि रुपन्देही, कपिलवस्तु तथा नवलपरासीका विभिन्न स्थानमा भान्सामा विषादी कसरी रोक्न सकिन्छ भनेर छलफल चलाउदै आएको बताए । आफ्नै खर्चमा कार्यक्रम सञ्चालन गर्दै आएका उनले गृहणीहरु देखि यसमा सरोकार राख्नेहरुलाई आफूले जानेका कुरा राख्ने गरेको बताउछन् ।
नेपाली भान्सामा विषादीको प्रवेश र यसको रोकथामका उपायबारे बुटवलका उनले सञ्चारकर्मी माझ समेत छलफल गरे ।  छलफल कार्यक्रममा विषादीको प्रयोग र यसले पार्ने दीर्घकालीन असरबारे उनले कुरा राखेका थिए ।
 विषादीको बढ्दो प्रयोगका कारण जटिल रोगहरु निम्तिने र मानिसको मृत्यु हुने  दर बढ्न थालेको धारणा राख्दै उनले यसमा उपभोक्ता र कृषकले बढी ध्यान दिन जरुरी रहेको बताए ।
 काफ्लेले विषादीको प्रयोग कति गर्ने  र प्रयोगपछि कति समयपछि खाद्यन्य घरमा भित्राउने भन्ने ख्याल गरेमा पनि विषादीबाट केही हदसम्म जोगिन सकिने बताए ।
खाद्यबालीमा प्रयोग गरेको विषादीको प्रकारअनुसार ३ देखि ९० दिनसम्म पर्खिनु पर्ने भन्दै उनले घरमा ल्याइसकेपछि उपभोग गर्दा पनि ख्याल गर्नुपर्ने बताए ।
विषादीको प्रयोगका बारेमा विद्यालय स्तरबाट जानकारी गराउन जरुरी रहेको पनि उनले औल्याए ।  
तरकारी र फलफूल बजारबाट ल्याउने बित्तिकै मनतातो पानीमा नुन राखी अथवा कागती पानीमा डुबाएर राख्नाले पनि विषादीको कम असर पर्ने उनले बताए ।