२ बैशाख २०८१, आईतवार

एमालेका झुट्टा कुरामा विश्वास नगर्न भण्डारीको आग्रह
  • लुम्बिनी खोज
  • २२ बैशाख २०७९, बिहीबार ०९:४२

बुटवल ।

काँग्रेस नेता डा. चन्द्र भण्डारीले अघिल्लो निर्वाचनमा एमालेले देखाएका सपना सपनामै सिमित रहेको बताएका छन । उनले अहिले पनि एमालेले तिनै सपना देखाएर मत माग्दै हिँडेको बताउँदै उसका झुट्टा कुरामा विश्वास नगर्न आम मतदातालाई आग्रह गरे ।

नेता भण्डारीले एमालेले अघिल्लो निर्वाचनमा रेल ल्याउने, घरघरमा ग्यासको पाईपलाईन लगायतका कैयौं सपना बाँडेपनि चुनाव जितेपछि आफू र आफ्नालाई पोस्ने मात्रै काम गरेको आरोप लगाउँदै जनतालाई देखाएका सपना सपनामै सिमित भएको बताएका हुन ।उनले जनताका आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकता दिइएको बताउँदै हुनै नसक्ने सपना बाडेर जनता झुक्याउने काम काँग्रेसले नगर्ने पनि बताए ।

सत्ता गठबन्धनको चुनावी कार्यक्रम अन्तरगत गठबन्धनको तर्फबाट बिहिबार बुटवलमा आयोजना गरिएको महिला भेलामा बोल्दै नेता भण्डारीले बुटवलको हकमा जनतामा भिजेका र जनताको सेवामा प्रतिवद्ध भएर लाग्ने व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै काँग्रेस र गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे ।

त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार खेलराज पाण्डेयले आफूले जितेमा बुटवललाई नमुना सहरको रुपमा बिकास गर्ने र चुनाव गरेका बाँचा ५ वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बुटवललाई मानवताको सहरको रुपमा बिकास गर्ने र बुटवलमा लैंगिक विभेद हुन नदिने पनि प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले देशको आवश्यकताको आधारमा ५ दलीय गठबन्धन गरिएको बताउँदै गठबन्धनको पक्षमा माहोल बनाउन र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले अघिल्लो स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारले जितेपनि आफूले गरेका बाँचा एउटा पनि पुरा नगरेको बताउँदै आफूहरुले जितेमा त्यस्तो नहुने प्रतिवद्धता व्यक्त गरे ।

सत्ता गठबन्धनको तर्फबाट महिला परिचालन समितिकी संयोजक जमुना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर कार्की, नेता युवराज गिरी लगायतले बुटवलको विकासको लागि कुनैपनि हालतमा गठबन्धनका उम्मेदवारले जित्नु पर्ने र त्यसमा सबैले साथ दिन आग्रह गरेका थिए ।