२०८२ कार्तिक २८
बुटवल ।
पूर्व अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले आर्थिक, भौतिक र मानविय दृष्टिले बुटवल मुलुककै केन्द्र बन्ने बताएका छन ।
नेकपा एमाले उद्योगी व्यवसायी निर्वाचन परिचालन कमिटीद्धारा बिहिवार बुटवलमा आयोजित उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उनले सञ्चालनमा रहेका योजना मात्रै पुरा हुँदा बुटवलले नयाँ उचाई हासिल गर्ने बताए ।
“भौतिक र मानवीय बिकासमा रुपन्देही निकै अगाडी छ । अरु ठाउँले यहाँबाट सिक्नुपर्छ उनले भने ,‘बर्तमान सरकार र केही विरोधीहरुले बुटवलमा भइरहेका विकासका आयोजनाहरु रोक्ने, पुरा हुन नदिने र विष्णु पौडेललाई असहयोग गर्ने षडयन्त्र गरिरहेका छन्, हामी त्यस्ता षडयन्त्रकाहरुरीलाई परास्त गछौं’ ।
‘हिजो सडक बन्न नदिन डोजर मुनि सुत्छु भन्नेहरु अहिले उम्मेदवार छन्,विकासे आयोजना रोकेर हामीलाई असफल बनाउने योजना बनाउंछन्’ । बुटवलको सडक रोकेर हाम्रा विरुद्ध भ्रम फैलाउनेहरुलाई छिट्टै सिडक निर्माण गरेर देखाउनुपर्नेछ — उनले भने ।
आफुहरु सरकारमा नरहंदा तत्कालिन सरकारले शुरु गरेका दर्जनौं पूर्वाधारहरुको निर्माण रोकिने र अलपत्र पर्ने खतरा बढेको उनले बताए । त्यसका लागि बुटवलवासीले दबाद सिर्जना गर्नुपर्ने बताए ।
‘तिनाउमा सिग्नेचर व्रिज र बुटवलमा ६ लेन सडक निर्माण सकेर यस्तो विद्युतको प्रबन्ध गर्ने मन छ कि विरोधीहरुका आंखा तिरिमिरी हुनेछन्’—पौडेलको भनाई थियो ।
सरकारमा अर्थमन्त्री भएका बेला निजी क्षेत्र उत्साहित हुने खालको बजेट ल्याएको स्मरण गर्दै उनले कोभिड महामारिका बेला पनि अर्थतन्त्र कमजोर हुन नदिएको दावी गरे ।
“हामीले बजेट ल्याउँदा सारा उद्योगी व्यवसायीले प्रशंसा गरे । संस्थागत रुपमा त्यो तहको समर्थन बिरलै प्राप्त हुन्छ । बजेट अहिले पनि आयो तर जताततै बिरोध भयो”,— उनले भने ।
नेपालको महंगी डबल डिजीटमा पुग्न लागेको जनाउँदै उनले महंगी घटाउन र अर्थव्यवस्था सुधार गर्न एमालेलाई मत दिन उद्योगी व्यवसायीलाई आग्रह गरे ।
अर्थतन्त्रलाई अगाडी बढाउन सरकार, सहकारी र निजीक्षेत्र बिच समन्वय हुनुपर्ने बताउँदै निजी क्षेत्र अनुकुलको वातावरण बनाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए । “मुलुकलाई निकास दिन एमालेको नीति र नेतृत्व अपरिहार्य छ, गठबन्धनले निकास दिन सक्दैन”—उनले भने ।
भेलामा बुटवल उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईले बुटवललाई आर्थिक राजधानीको रुपमा विकास गर्ने बताए । “हरेक काममा जनताको साथमा हुनेछौँ, तपाइँहरुको शिर झुक्ने गरी काम गर्ने छैनौं ”, उनले भने । अहिले राजनीतिक दलप्रति आम नागरिकको वितृष्णा बढेको जनाउँदै यस्तो अवस्थाको अन्त्य हुने गरी जनताको मन बुझेर काम गर्ने प्रतिवद्धता जनाए ।
भेलामा उपप्रमुखका उम्मेदवार सावित्रा अर्यालले उद्योगी व्यवसायीको हितमा काम गर्न आफ्नो उम्मेदवारी रहेको बताइन ।