२०८२ फाल्गुन ५

कांग्रेस उम्मेदवार चुन्नको प्रतिवद्धताः सुशासनसहित शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा प्राथमिकता
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन ५, मंगलवार १४:२१ गते

बुटवल, ५ फागुन ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, रुपन्देहीका लागि नेपाली काँग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने घोषणा गरेका छन् ।
‘सद्भाव, सुशासन, समृद्धि हाम्रो संकल्प’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा उनले क्षेत्रका दीर्घकालीन समस्या समाधान गर्दै विकास र समुन्नतिको आधार तयार गर्ने योजना अघि सारेका छन् । मंगलबार रुपन्देहीको सैनामैना ३ मा भएको घरदैलोको क्रममा प्रचारप्रसार कार्यालयमा आयोजना गरिएको कार्यक्रममा उक्त प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
शिक्षा र स्वास्थ्यमा विशेष जोड
उम्मेदवार शर्माले सरकारी विद्यालयको स्तर उकास्दै कक्षा १२ सम्म निःशुल्क शिक्षा सुनिश्चित गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण निःशुल्क गरिने तथा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै उपचार सेवामा सहज पहुँच विस्तार गरिने उनको योजना छ ।
रुपन्देही–२ भित्रका सरकारी अस्पतालको स्तरोन्नति गर्दै बीमा अन्तर्गत पाँच लाख रुपैयाँसम्मको उपचार सुविधा प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।

पूर्वाधार र आधारभूत सेवामा सुधार
क्षेत्रभित्र शुद्ध खानेपानीको व्यवस्था, अव्यवस्थित जग्गा व्यवस्थापन, विद्युत् तथा हाइटेन्सन लाइन व्यवस्थापनमा पहल गरिने जनाइएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारका कारण देखिएका समस्या समाधान, नदी किनार व्यवस्थापन तथा हरियाली प्रवद्र्धनका कार्यक्रम अघि सारिएका छन् ।
त्यसैगरी, राष्ट्रियस्तरको खेल मैदान निर्माण, आवश्यक स्थानमा चार्जिङ स्टेसन स्थापना र सार्वजनिक यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ ।
कृषि, उद्योग र रोजगारी
कृषिमा आधुनिकीकरण, मल–बीउको सहज आपूर्ति र उत्पादनमुखी कार्यक्रममार्फत किसानलाई प्रोत्साहन गर्ने उल्लेख छ । युवालाई लक्षित गरी उद्योग स्थापना र स्वरोजगारका अवसर सिर्जना गर्ने, व्यवसायमैत्री कानुनी व्यवस्था र दोहोरो कर प्रणाली अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाइएको छ । विदेशबाट फर्किएका र पेन्सनमा रहेका राष्ट्रसेवक कर्मचारीका अनुभवलाई उत्पादन र विकासमा उपयोग गर्ने नीति पनि अघि सारिएको छ ।
सामाजिक सद्भाव र सुशासन
स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गर्दै नागरिकका समस्या समाधानमा सक्रिय भूमिका खेल्ने, पारदर्शिता र उत्तरदायित्वलाई सुदृढ गर्ने तथा सामाजिक सद्भाव कायम राख्ने अठोट व्यक्त गरिएको छ ।
प्रतिबद्धता पत्रमार्फत शर्माले मतदातासँग विकास र समृद्धिको यात्रामा साथ दिन आग्रह गर्दै निर्वाचनमा काँग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न अपिल गरेका छन् ।
रुपन्देही–२ मा आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको यो प्रतिबद्धता पत्रले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र रोजगारीका क्षेत्रलाई समेट्दै समग्र विकासको खाका प्रस्तुत गरिएको छ ।
जेन–जीको समर्थन चुन्नलाई
रुपन्देही क्षेत्र नं. २ का जेन–जी समुहका युवा विद्यार्थीहरुले काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेललाई समर्थन गरेका छ । मंगलबार बुटवलमा भएको जेन–जी समुहका युवा विद्यार्थीहरुको भेलाले नीजि क्षेत्रबाट भएपनि यस क्षेत्रमा ठूलो संख्यामा रोजगारी सिर्जना गरेको र आफूहरुको समेत भावना समेट्न सक्ने भन्दै आफूहरुको समर्थन काँग्रेस उम्मेद्वार शर्मालाई रहेको बताएका हुन् ।
जेनजीको भेलामा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार शर्माले जेन–जीले उठान गरेका मुद्धा आफ्नो पनि मुद्धा भएको बताउँदै ती मुद्धालाई निर्णायक बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले विद्यार्थी र युवा नेतृत्वको महत्त्व र आगामी निर्वाचनमा सक्रिय भुमिका निभाउनुपर्ने कुरामा सहभागीहरूलाई आग्रह गरे ।
विद्यार्थी परिचालन संयोजक महेश पौडेलले अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूलाई पार्टीका नीति, विद्यार्थी संगठनसँगको समन्वय, र स्थानीय तहको विकाससँग सम्बन्धित कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल नेविसंघका केन्द्रिय सदस्य अशोक गौतमले गरेका थिए भने निर्वाचन परिचालन समितिका सदस्य रोशन थापाले भने युवा र विद्यार्थीहरूलाई पार्टीको अभियानसँग प्रत्यक्ष जोड्ने र उनीहरूका विचार सुन्ने अवसर दिनु आफूहरुको प्राथमिकता भएको बताए । कार्यक्रममा डेढ सय बढी जेन–जी युवा विद्यार्थीको सहभागिता रहेको थियो ।

मंगलबार सैनामैना १ र ३ मा घरदैलो

आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेको छ । सोमबारबाट सुरु भएको घरदैलो कार्यक्रम अन्तरगत मंगलबार सैनामैनाको वडा नं. १ र ३ मा घरदैलो गरिएको हो । घरदैलोमा काँग्रेस उम्मेद्वार पौडेलले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना योजना र प्रतिबद्धताबारे जानकारी गराएका छन् ।
घरदैलोका क्रममा स्थानीय नागरिकले रोजगारी, सडक पूर्वाधार, खानेपानी, ढल निकास, सुकुम्बासी समस्या तथा शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर सुधारका विषय उठाएका थिए । विशेष गरी सैनामैना–३ को मुर्गियाका विभिन्न टोल र सुनगाभा चोक हुँदै नगरपालिका क्षेत्र भ्रमण गर्दा मतदाताले आफ्नो स्थानीय समस्या–टोलको बाटो नबनेको, ढल निकास अभाव भएको लगायतका समस्या सुनाएका थिए । मतदाताले एकै स्वरमा पौडेललाई भोट दिने र आफन्तलाई पनि मतदान गर्न सिफारिस गर्ने कुरा व्यक्त गरेका थिए । उनले युवालाई स्वरोजगार बनाउने, कृषिमा आधुनिकीकरण गर्ने, साना उद्योग प्रवद्र्धन गर्ने र महिला सशक्तीकरणका कार्यक्रम अघि बढाउने आफ्नो योजना रहेको सुनाएका छन् ।
घरदैलो अभियानमा समानुपातिक उम्मेदवार चुनावी समानुपातिक उम्मेदवार रिता सेन, नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी, रुपन्देही क्षेत्र–२ का सभापति प्रजापाल तथा निर्वाचन परिचालन समितिका संयोजक प्रजापाल गिरी, महासमिति सदस्य बालकुमारी भण्डारी, नेता युवराज गिरी, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठलगायत काँग्रेसका नेता–कार्यकर्ता तथा स्थानीयको उपस्थिति रहेको थियो ।