२०८२ फाल्गुन ८
जनताको समस्या सुन्दै घरदैलोमै केन्द्रित छन् चुन्नप्रसाद
बुटवल, ७ फागुन ।
आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै घरदैलोमा पुगेका उम्मेदवारलाई जनताले आफ्ना साना–साना समस्याहरु सुनाएका छन् । उनीहरुले आफ्नो टोलको बाटोघाटो,टोलमा बत्ति, सरसफाइ, रोजगारी सिर्जना, सुकुम्बासी समस्या समाधान लगायतका समस्याहरु समाधानको प्रतिबद्धता खोजेका छन् । नेपाली कांग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल र समानुपातिक उम्मेदवार रिता सेन ओली यतिबेला टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् ।
अभियानको चौथो दिन बिहिबार सैनामैना नगरपालिका वडा नम्बर ४ र २ का विभिन्न टोलमा घरदैलो कार्यक्रमका क्रममा जनताले गुनासो सुनाउदै समस्याहरुको समाधान गर्न आग्रह गरेका हुन् । घरदैलो अभियान पहिलो चरणमा मुर्गिया बजारबाट सुरु भएको थियो । त्यहाँबाट पुकारबाल्टी हुँदै अस्नैयाडाँडा, राधाकृष्ण टोल, प्रगति टोल, शान्तिटोल, सिसौडाँडा, रन्यौरा, झारबैरा हुँदै लुम्बिनी रोड र नापी क्षेत्रसम्म पुगिएको थियो । त्यसैगरी घरदैलोका क्रममा स्थानीय बासिन्दाले आफ्ना विभिन्न समस्या उम्मेदवारसमक्ष राखेका थिए । स्थानीयले आफ्नो क्षेत्रमा नापी भएर पनि सुकुम्बासी समस्या समाधान नभएको, लालपुर्जा हातमा भएकाहरुको पनि जग्गासम्बन्धी झन्झट कायम हुँदा समस्या बेर्हाेनुपरेको गुनासो सुनाए ।
कतिपय स्थानमा बाटोघाटो समयमै निर्माण नभएको र सैनामैनाको मूल समस्या सुकुम्बासी समस्या सम्बन्धि रहेको स्थानीयको भनाइ छ । त्यस्तै, वडा नम्बर २ अन्तर्गत झारबैरा, खकनपुर, कालिका टोल, सोरौली हुँदै रानीबगियासम्म पुग्दा मतदाताले शैक्षिक स्तर सुधार, सुकौली खोलाको तटबन्ध निर्माण, समयमै सडक पिच नहुनु, ढल निकासको समस्या लगायतका विषय उठाएका थिए । उनीहरुले यसअघि निर्वाचित सांसद तथा जनप्रतिनिधिले आफुहरुका गुनासा र समस्याहरु समाधान गर्न नसकेको बताए ।
कांग्रेस उम्मेदवारहरूले रुपन्देही क्षेत्र नम्बर २ मा घरदैलो अभियानलाई तीव्र बनाएका छन् । उम्मेदवार पौडेलले घरदैलोका क्रममा आफू निर्वाचित भएपछि स्थानीयस्तरका समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कांग्रेस नेतृत्वमै स्थायित्व र विकास सम्भव रहेको भन्दै प्रत्येक टोल–टोलका समस्या पहिचान गरी योजनाबद्ध ढंगले काम गर्ने बताए । पौडेलले ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने संकल्प समेत जनताका बिचमा गरेका छन् । उनले यो प्रतिज्ञा पूरा गर्न कांग्रेसले के–के गर्ने भन्ने बिषय घोषणापत्रमा उल्लेख गरिएको पनि बताए । उनले जनताको समस्या नै हाम्रो पहिलो प्राथमिकता रहेको बताउदै सैनामैनामा देखिएका सुकुम्बासी, सडक, शिक्षा र तटबन्ध जस्ता विषयलाई योजनाबद्ध रूपमा अघि बढाउने बताए ।
समानुपातिक उम्मेदवार रिता सेन ओलीले महिला, बालबालिका र सीमान्तकृत समुदायका मुद्दालाई संसदसम्म पुर्याउने बताइन् । ‘शिक्षा, पूर्वाधार र सुकुम्बासी समस्यामा हामी गम्भीर छौं ,जनताको साथमै रहेर काम गर्नेछौं ।’ यसअघि हिजो बुटवल उपमहानगरपालिका वडा नम्बर ७ र वडा नम्बर १ मा पनि घरदैलो कार्यक्रम गरिएको थियो ।
त्यहाँ पनि स्थानीयसँग भेटघाट गरी विकास, रोजगारी, सडक र ढल निकास लगायतका विषयमा सुझाव तथा गुनासा संकलन गरिएको थियो । घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । शुक्रबार तिलोत्तमा वडा न ५ र वडा न ६ मा घरदैलो गर्ने नेपाली कांग्रेस रुपन्देही क्षेत्र न २ का निर्वाचन परिचालन मूल समितिका संयोजक तथा क्षेत्रीय सभापति प्रजापाल गिरिले जानकारी दिए ।

