२०८२ फाल्गुन ८
शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार प्रथामिकतामा
बुटवल ८ फागुन ।
नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर २ ले पार्टीका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार विष्णुप्रसाद पौडेलको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार विकासलाई प्रथामिकतामा राखिएको छ । विकासका रोलमोडलका रूपमा स्थापित तथा रूपन्देही जिल्लामा, विशेष गरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा विकासको गतिलाई तीव्रता दिन र भौतिक एवम् मानवीय विकासका दृष्टिले देशकै नमुना बनाउन निर्णायक भूमिका पौडेलले निर्वाह गरेको उल्लेख गर्दै एमालेले रूपन्देहीलाई, विशेषगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ लाई तीव्र वेगका साथ अझ बढी विकसित र समृद्ध तुल्याउनका लागि पौडेलको उम्मेदवारी रहेको एमालेले जनाएको छ ।
विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै प्रतिबद्धतापत्रमा रुपन्देहीका विभिन्न पालिकाहरुलाई जोडेर महानगरिय ढाचामा सहरी पूर्वाधार निर्माण गर्ने देखि राष्टि
य राजमार्ग, पुल र स्थानिय सडक सञ्जालका विषय समेटिएको छ ।
कार्यक्रममा पूर्व उपप्रधान तथा अर्थमन्त्री समेत रहेका पौडेलले सञ्चालन हुन वाकी सम्पन्न आयोजनाको सञ्चालन, निर्माणाधिन आयोजनाहरु सम्पन्न गर्ने तथा महत्वपूर्ण आयोजना अगाडी बढाउने दृढ संकल्प ब्यक्त गरे । उनले निर्माणाधीन १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल सम्पन्न गरी प्रभावकारी रूपमा सञ्चालनमा ल्याइने, सैनामैना र तिलोत्तमामा आधारभूत अस्पतालको स्तरोन्नति गरिने तथा गुणस्तरीय स्वास्थ्य सेवाका लागि आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै प्रतिवद्धता पत्रमो शिक्षातर्फ लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार, बुटवल बहुमुखी क्याम्पसको पूर्वाधार विकास, मेडिकल कलेज सञ्चालन तथा कृषि र इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने योजना अघि सारिएको छ । सामुदायिक विद्यालयमा पूर्वाधार, प्रयोगशाला र प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार गरिने जनाइएको छ ।
रोजगारी र आयआर्जनमा सूचना प्रविधि केन्द्र स्थापना, स्टार्टअप सिड फन्ड, सहुलियत कर्जा तथा ‘पढ्दै काम गर्दै’ कार्यक्रममार्फत युवालाई उत्पादन र उद्यमसँग जोड्ने नीति लिइने उल्लेख छ । वैदेशिक रोजगारीबाट फर्केका युवाको सिप र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहजीकरण गरिने प्रतिबद्धता पनि जनाइएको छ ।
पूर्वाधार विकासअन्तर्गत सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई द्रुत मार्गमा स्तरोन्नति, सिद्धबाबा सुरुङमार्ग सम्पन्न, तिनाउ नदीमा सिग्नेचर पुल निर्माण तथा स्थानीय सडक सञ्जाल विस्तार गर्ने योजना समेटिएको छ । साथै कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना अघि बढाइ सिँचाइ र बस्ती संरक्षणलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।
भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान, प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी, फोहोर व्यवस्थापन केन्द्र सञ्चालन तथा सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने प्रतिबद्धता पत्रमा समावेश छ ।
संघ, प्रदेश र स्थानीय तहबिच समन्वय सुदृढ गर्दै स्रोत व्यवस्थापन प्रभावकारी बनाइने उल्लेख गर्दै एमाले नेता पौडेलले रूपन्देही–२ लाई शिक्षा, स्वास्थ्य, उद्योग र सेवा क्षेत्रको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य व्यक्त गरे । उनले स्थानीय आवश्यकता र जनअपेक्षालाई आधार मानेर कार्यक्रम अघि बढाइने तथा जनतासँगको प्रत्यक्ष संवादलाई निरन्तरता दिइने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
त्यस्तै पौडेलले उद्योग, कृषि, ऊर्जा र समग्र आर्थिक विकासलाई केन्द्रमा राख्दै रूपन्देहीलाई राष्ट्रिय अर्थतन्त्रको गतिशील केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । पुँजी बजार सुधार, लगानीकर्ताको मनोबल अभिवृद्धि जस्ता विषयमा आफूले सधै ध्यान दिने उनले बताए । उनले पुजीबजारका समस्या पहिचान गर्दै समाधानमा आफ्नो ध्यान जाने बताए ।
उद्योगतर्फ मोतीपुर औद्योगिक क्षेत्रको पुनः रेखाङ्कन गरी पूर्वाधारसहित उद्योग स्थापना प्रक्रिया अघि बढाइने उल्लेख गर्दै उनले बुटवल औद्योगिक क्षेत्रको क्षमता विस्तार, बुटवल धागो कारखानालाई सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुरुप आधुनिक प्रविधिसहित सञ्चालनमा ल्याउने प्रतिवद्धता पनि ब्यक्त गरिएको छ । बेलहियास्थित निर्माणाधीन एकीकृत जाँच चौकी (आइसिपि) सम्पन्न गरी अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गरिने योजना अघि सारिएको छ । साना, मझौला तथा ठूला उद्योगका लागि लगानीमैत्री वातावरण, ऊर्जा आपूर्ति र बजार व्यवस्थापनमा सहजीकरण गरिने उनको भनाइ छ ।
स्थानीय व्यापार प्रवद्र्धनका लागि अमरपथ, ट्राफिक चोक, गोलपार्कलगायत बजार क्षेत्रलाई आधुनिक पूर्वाधारसहित आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गरिने उल्लेख छ । मैनाबगर अटो भिलेज र नयाँगाउँ ट्रान्सपोर्ट भिलेजलाई पूर्ण सञ्चालनमा ल्याइने तथा यातायात व्यवस्थापन प्राधिकरण गठन गरी यातायात क्षेत्रका समस्या समाधान गरिने जनाइएको छ । कृषितर्फ सेमलार कृषि उपज थोक बजारलाई मेघा परियोजनाका रूपमा सम्पन्न गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोडिने योजना छ । बुटवल–६ स्थित कृषि उपज बजारको आधुनिकीकरण, स्थानीय हाटबजार स्तरोन्नति तथा सञ्चालनमा समस्या देखिएको स्लटर हाउस पुनः व्यवस्थित गरिने बताइएको छ ।
ऊर्जातर्फ आगामी ५० वर्षको माग धान्ने गरी कर्साघाटमा १३२÷३३ केभी सब–स्टेशन निर्माण, विद्युत् तथा केबल लाइन भूमिगत प्रणालीमा लैजाने र हाइटेन्सन लाइन सुरक्षित स्थानमा स्थानान्तरण गरिने योजना अघि सारिएको छ ।
पौडेलले उद्योग, पर्यटन, सेवा, वित्त र मानवीय पुँजीबिच समन्वय गर्दै रोजगारी र उत्पादनको चक्र सिर्जना गरिने उल्लेख गरे । हरित तथा जैविक अर्थतन्त्र प्रवद्र्धन, बैंक तथा सहकारी क्षेत्र सुधार र समतामूलक आर्थिक संरचना निर्माणमार्फत समृद्ध रूपन्देही निर्माण गर्ने लक्ष्य उनले व्यक्त गरे ।
कार्यक्रममा निर्वाचन परिचालन कमिटीका संयोजक भोजप्रसाद श्रेष्ठले जनताको विश्वास जित्ने गरी कार्यान्वयन हुन सक्ने योजना मात्र प्रतिबद्धता पत्रमा समावेश गरिएको बताए ।
पार्टीले संविधानको रक्षा, सामाजिक न्याय, समानता र सुशासनमार्फत रुपन्देहीलाई देशकै अग्रणी आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको र प्रतिबद्धता पत्रमा त्यही विषय समेटिएको तयार समितिका संयोजक डिआर घिमिरेले जनाए ।