२०८२ फाल्गुन १५

चुनाव जित्नेमा उम्मेदवार चुन्नप्रसाद पौडेल विश्वस्त
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन १४, बिहीबार १४:०३ गते

बुटवलको व्यवस्थित विकासमा चुन्नको विशेष जोड
बुटवल, १४ फागुन ।
नेपाली कांग्रेसको तर्फबाट रूपन्देही–२ का उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले चुनाव जित्नेमा विश्वस्त भएको बताएका छन् । घरदैलो कार्यक्रमको ९ औं दिन आज बुटवल उपमहानगरपालिका वडा नं १२ र वडा नं २ को घरदैलोका क्रममा प्रतिक्रिया दिदै कांग्रेस उम्मेदवार पौडेलले घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताहरूको सक्रिय सहभागीता र मतदाताहरूले देखाएको सद्भावले चुनाव जितिनेमा आफू विश्वस्त भएको बताएका हुन् ।
पौडेलले बिहिबार बिहान बुटवल उपमहानगरपालिका–१२ मा घरदैलो अभियान गरे । बिहान ७ बजेदेखि १२ बजेसम्म नयाँगाउँ, तामनगर, ढवाह लगायतका क्षेत्रमा घरदैलो गर्दै उनले स्थानीयसँग प्रत्यक्ष संवाद पनि गरे । घरदैलोका क्रममा स्थानीय बासिन्दाले आफ्ना टोलका दीर्घकालीन समस्या खुलेर राखेका थिए । विशेषगरी ढल निकासको अव्यवस्था, टोल सुधार कार्यक्रम प्रभावकारी नहुनु, सडक स्तरोन्नति ढिलो हुनु, सरसफाइ व्यवस्थापन कमजोर हुनुजस्ता विषयमा गुनासा आएका थिए ।
यसैबीच, भूमिहीन र सुकुम्बासीले जग्गा व्यवस्थापन र स्थायी समाधानको विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए । उम्मेदवार पौडेलले भुमिहीन समस्यालाई कानुनी र व्यवहारिक ढंगले कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा गम्भीर चासो देखाउँदै यसलाई नीति तथा कार्यक्रममै समेट्ने प्रतिबद्धता पौडेलले गरे । उनले स्थानीयका गुनासा टिपोट गर्दै विकास निर्माणका अधुरा कामलाई सम्पन्न गर्ने, टोलस्तरमै योजना छनोट गर्ने र व्यवस्थित शहरी विकासको स्पष्ट खाका अघि सार्ने बताए।त्यसैगरी, दिउँसो १ बजेदेखि बुटवल–२ मा घरदैलो अभियान सञ्चालन गरिएको थियो। पारी बुटवल, फूलबारी, मैनाबगर, पाखापानी लगायतका क्षेत्रमा मतदातासँग भेटघाट गर्दै उनले ऐतिहासिक बुटवलको पहिचान जोगाउँदै योजनाबद्ध विकास गर्ने प्रतिबद्धता दोहोर्याए । पुरानो बटौली क्षेत्रको ऐतिहासिक महत्वलाई संरक्षण गर्दै पुरानो बजारलाई थप व्यवस्थित, सुरक्षित र पर्यटकीय दृष्टिले आकर्षक बनाउने योजना अघि सारिएको छ।
अव्यवस्थित संरचना व्यवस्थापन, पार्किङ समस्या समाधान, ढल तथा फोहोर व्यवस्थापन सुधार र साना व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिने बताइएको छ ।घरदैलो अभियानका क्रममा स्थानीयले रोजगारी सिर्जना, बजार व्यवस्थापन र आधारभूत पूर्वाधार सुधारमा ठोस कामको अपेक्षा राखेका थिए। उम्मेदवार पौडेलले “विकास कागजमा होइन, व्यवहारमा देखिनुपर्छ” भन्दै परिणाममुखी कार्यशैली अपनाउने प्रतिबद्धता व्यक्त गरे ।
बुटवल १२ मा तीनदर्जन युवा काँग्रेसमा प्रवेश
बुटवल ।
बुटवल उपमहानगरपालिका वडा नं. १२ मा विभिन्न पार्टी परित्याग गरि तीन दर्जन बढी युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । यहि फागुन २१ गते हुने प्रतिनीधि सभा निर्वाचनको चुनावी प्रचारप्रसारका क्रममा बिहिबार उम्मेद्वार सहितको घरदैलोका क्रममा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । बुटवलको वडा नं. १२ रुपन्देही क्षेत्र नं. २ मा पर्छ । यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको तर्फबाट पार्टीका महासमिति सदस्यसमेत रहेका उद्योगपति चुन्नप्रसाद पौडेल उम्मेद्वार छन् । त्यसैगरी यसै क्षेत्रकी समानुपातिक उम्मेदवार रिता सेन ओलीलाई पार्टीले समानुपातिक उम्मेद्वार बनाएको छ । उनीहरुलाई नेपाली काँग्रेसका उम्मेद्वार सहितका नेताहरुले पार्टी प्रवेश गराएका हुन् । आसन्न प्रतिनिधि सभा निर्वाचनमा काँग्रेस उम्मेद्वारलाई समर्थन गर्दै काँग्रेसमा प्रवेश गरेको उनीहरुले बताएका छन् । युवाहरुको प्रवेशले नेपाली काँग्रेसको पक्षमा बनेको माहौल थप उचाईमा पुगेको नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नं. १२ का सभापति धर्मराज आचार्यले बताए । उक्त कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार रिता सेन, वडा सभापति धर्मराज आचार्य, महासमिति सदस्य दीर्घबहादुर केसी नेपाल तरुण दल रुपन्देहीका सचिव रमेश शाही, क्षेत्रीय सभापति हसन्त लामा, नगर सभापति सुजन पुन, टिकाराम भट्टराई लगायतका नेता कार्यकर्ता सहभागि थिए । नेपाली काँग्रेसमा नेतृत्व परिवर्तनसंग युवाहरुको आकर्षण बढेको छ । पार्टीमा नवप्रवेशीहरुले पनि देशमा स्थायित्व, विकास र अवसर सिर्जनाका लागि काँग्रेस उपयुक्त शक्ति रहेको भन्दै संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।