२०८२ चैत्र २
बुटवल, १ चैत्र ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगर बुटवलमा पर्यटन प्रवर्द्वनका योगदान पुग्ने गरी कार्यक्रम गरिएको छ ।
पर्यटन प्रवर्द्वनमा होटल व्यवस्थापनका सम्भावना र चुनौती विषयक अन्तरक्रिया तथा होटल व्यवस्थापनसंग सम्बन्धित हाजिरी जवाफ प्रतियोगिता आइतवार सम्पन्न गरिएको छ । कक्षा १२ व्यवस्थापन समुह होटल व्यवस्थापनमा अध्ययनरत ६ वटा सेक्सन वीच पर्यटन प्रवर्द्वनमा होटल व्यवस्थापनका सम्भावना र चुनौती विषयक अन्तरकृया कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए । उनका अनुसार अन्तरकृया कार्यक्रम र वोर्ड परीक्षा लक्षित होटल व्यवस्थापन संग सम्बन्धित हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । जसमा कक्षा १२ एन सेक्सनका सफिका घर्ती, प्रशान्त न्यौपाने र सुदन खत्री प्रथम, सेक्सन सी का अनिश खनाल, निशान्त भुजेल र सन्दिप पौडेलको सेक्सन द्वितीय र सेक्सन ई का सिया जि.सी. विमला कुँवर र शिशिर चापागाईको सेक्सन तृतीय भएको थियो । प्रथम, द्वितीय र तृतीय हुने समुहलाई विद्यालयका प्रधानाध्यापकले नगद पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा होटल व्यवस्थापन विषय संयोजक आशिष के.सी., होटल व्यवस्थापनका शिक्षकहरु सुरज पौडेल, विपिन भण्डारी र बजारशास्त्र विषय शिक्षक केशव भण्डारी, जुनियर इन्जिनियर विशाल रावत, देवराज चौधरी लगायतले सहजीकरण गरेका थिए ।
उक्त अन्तरक्रियामा शिक्षा तथा मानवस्रोत विकास केन्द्र एकीकृत शैक्षिक सूचना व्यवस्थापन शाखाका निर्देशक भक्त बहादुर गोदारले विद्यालयमा विद्यार्थीसंग साक्षात्कार गर्न र विद्यालयको अनुगमन गर्न पाएकोमा खुशी व्यक्त गरे. । विद्यार्थीहरुलाई मिहिनेत गरेर पढाइमा लाग्न सुझाव दिदै उनले होटल क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता बढ्दै गएको बताए ।
होटल पौवाका प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले विद्यार्थीहरुलाई खाद्यकला, अतिथि सत्कार र व्यवस्थापन जस्ता विषयहरुमध्ये कुनै एक क्षेत्र छनौट गरेर लक्ष्य निर्धारण गर्न र होटल व्यवस्थापनमा व्यवहारिक सिपकला आवश्यक पर्ने भएकोले सानो कार्यबाट अनुभव बटुल्दै अगाडी बढ्नु पर्ने बताए । नेपालमा पर्यटन व्यवसायको उच्च सम्भावना रहेको र होटल क्षेत्रमा धेरै रोजगारीका सम्भावना रहेकोले विद्यार्थीहरु नेपालमा नै बसेर स्वरोजगार बन्ने लक्ष्य लिएर अगाडी बढ्नु पर्ने र देशमा स्थिर सरकार आएकोले अव नेपालमा पर्यटन व्यवसायको सम्भावना उच्च रहेको दावी गरे ।
विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष कृष्ण प्रसाद खरेलले विद्यालयले विद्यार्थीहरुको जीवनमा आवश्यक र वोर्ड परीक्षालाई लक्षित गरेर हाजिरी जवाफ प्रतियोगिता विद्यार्थी लक्षित आयोजना गरेकोमा खुशी व्यक्त गरे ।
कार्यक्रम बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा व्यवस्थापन समूह कक्षा ११ की विद्यार्थी एनसीसी उत्कृष्ट क्याडेट अविक्षा श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।


