२०८२ चैत्र १५
बुटवल १३ चैत ।
बुटवलमा सञ्चालन गरिएको विद्यालय स्तरिय जिपि स्मृति रनिङ् शिल्ड महिला भलिवलको उपाधिका लागि फाइनलमा सिद्धेश्वरी माध्यमिक विद्यालय र उजिरसिंह माध्यमिक भिड्ने भएका छन् ।
नेपाली काँग्रेसका संस्थापक नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औं स्मृति दिवसको अवसरमा जिपि स्मृति प्रतिष्ठान रुपन्देहीले आयोजना गरेको महिला भलिवल रनिङ् शिल्ड प्रतियोगितामा सिद्धेश्वरीले नवीन र उजिरसिंहले पर्रोहालाई हराएर फाईनलमा प्रवेश गरेका हुन् ।
त्यस्तै तेस्रो स्थानका लागि नवीन र पर्रोहा बिच प्रतिस्पर्धा हुनेछ । बुटवल ७ स्थित सिद्धेश्वरीको खेल मैदानमा भएको प्रतियोगितामा ज्ञानोदय माध्यमिक विद्यालय, शान्ति नमुना माध्यमिक विद्यालय, नवीन औद्योगिक माध्यमिक विद्यालय, नहरपुर माध्यमिक विद्यालय, सिद्धेश्वर माध्यमिक विद्यालय, पर्रोहा माध्यमिक विद्यालय, नवरत्न माध्यमिक विद्यालय, पशुपति माध्यमिक विद्यालय, मोतिपुर माध्यमिक विद्यालय, नयाँगाउ माध्यमिक विद्यालय र उजिरसिंह माध्यमिक विद्यालय गरि ११ वटा सामुदायिक विद्यालयका टिम प्रतिस्पर्धा गरेको कार्यक्रम संयोजक प्रतिष्ठानका कार्यसमिति सदस्य बाबुराम बिकले जानकारी गराए ।
प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले छात्राहरुलाई खेलप्रति जागरुक गराउन र विधागत भलिवल खेलको विकासका लागि जिपि कोइराला स्मृति प्रतिष्ठानले महत्वपूर्ण योगदान गरेको बताए । उनले बुटवललाई खेलकुदको हवको रुपमा विकास गर्न नगरपालिकाले बालबालिकालाई खेलप्रति आकर्षण, प्रशिक्षण र पूर्वाधार विकासमा उल्लेखनीय लगानी गरेको पनि जानकारी गराए ।
जिपि स्मृति प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले छात्राहरुलाई खेलप्रति आकर्षण गरि खेलका माध्यमबाट राष्ट्रलाई पनि योगदान पुगोस भन्ने उदेश्यले विद्यालय स्तरीय छात्रा भलिवल प्रतियोगिता गरिएको बताए । उनका अनुसार यो १६औं संस्करणको प्रतियोगिता हो । विगतका वर्षमा निजी तथा सामुदायिक विद्यालय सहभागी गराईएपनि यो वर्षदेखि सामुदायिक विद्यालयलाई मात्रै सहभागी गराइएको जानकारी गराए ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैंया, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १५ हजार रुपैया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तै तेस्रो हुने टिमलाई १० हजार रुपैंया नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानकी उपाध्यक्ष बालकुमारी भण्डारीले जानकारी गराइन् । उनका अनुसार उत्कृष्ट खेलाडि र अनुसाशित खेलाडिलाई जनही १ हजार ५ सय नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिता अन्तरगत फाईनल प्रतिस्पर्धा तथा तेस्रो र सान्त्वनाका लागि भोली शनिबार बिहान प्रतिस्पर्धा गराइने प्रतिष्ठानकी सचिव गंगा पन्थीले बताइन ।