२०८२ चैत्र १८

लुम्बिनी प्रदेशमा तथ्यांक व्यवस्थापन सूचना प्रणाली शुभारम्भ
  • लुम्बिनी खोज
  • २०८२ चैत्र १६, सोमबार १६:२६ गते

बुटवल १६ चैत ।

लुम्बिनी प्रदेशमा तथ्यांक व्यवस्थापन सूचना प्रणाली शुभारम्भ गरिएको छ । प्रदेश योजना आयोगको तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यलाई उक्त प्रणाली हस्तान्तरण गरिएपछि आचार्यले सो सूचना प्रणालीको सोमवार शुभारम्भ गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रमाणमा आधारित निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन तथ्यांक व्यवस्थापन सूचना प्रणालीले महत्वपूर्ण योगदान पु¥याउने बताए । तीन तहका सरकारले सम्पादन गरेका कामबारे नागरिक सुसूचित हुन पाउनुपर्ने मान्यताका आधारमा प्रदेश सरकारले पारदर्शिता अभिवृद्धि गर्न विभिन्न उपाय अपनाइरहेको उनले उल्लेख गरे । प्रदेशका लागि तथ्यांक व्यवस्थापन प्रणाली महत्वपूर्ण पूँजी भएको भन्दै उनले तीनै तहका सूचना तथा विवरण यस प्रणालीमा समेटिने र प्रदेशका पालिकालाई यसमा जोडिने जानकारी दिए ।

मुख्यमन्त्री आचार्यले प्रणालीको नियमित अद्यावधिक र सञ्चालनका लागि प्रदेश सूचना प्रविधि प्रतिष्ठानलाई जिम्मेवारी दिइएको बताए । उद्घाटनमै सीमित नराखी यसको प्रभावकारी कार्यान्वयनमा प्रतिष्ठानले अगुवाइ गर्नुपर्नेमा उनले जोड पनि दिए ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लीराज अर्यालले सुशासन प्रवद्र्धन, सेवा प्रवाह र जवाफदेहितालाई केन्द्रमा राखेर प्रणाली निर्माण गरिएको बताए । तथ्यमा आधारित योजना निर्माण, आवधिक योजनाको कार्यान्वयन तथा नियमित अनुगमनलाई यस प्रणालीमार्फत सुदृढ बनाइने उनले उल्लेख गरे । प्रदेश स्थापना भएदेखि हालसम्मका कार्यसम्पादन र उपलब्धिहरूको तथ्यांकगत विश्लेषण समेत यसमा समेटिएको उनले बताए ।

बेलायतको अन्तर्राष्ट्रिय विकास सहयोग, द एसिया फाउन्डेसन र सेवा प्रतिष्ठान नेपालको सहकार्यमा प्रदेश योजना आयोगले उक्त प्रणाली तयार पारेको हो । कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्रीले स्मार्ट गभर्नेसको अवधारणाअनुसार प्रणाली विकास गरिएको बताए ।

कार्यक्रममा द एसिया फाउन्डेसनका प्रभाव निर्देशक क्वारोलिन ओ डोनेलले मन्तव्य व्यक्त गरेका थिए भने डाइरेक्टर प्रणय स्थापितले प्रणालीसम्बन्धी प्रस्तुतीकरण राखेका थिए । नागरिक केन्द्रित तथ्यांक, सार्वजनिक तथ्यांकमा सहज पहुँच र तथ्यांकलाई मानव जीवनसँग जोड्ने उद्देश्यले प्रणाली विकास गरिएको जनाइएको छ । यसमा प्रदेश स्थापना यता भएका कार्यसम्पादन, विषयगत विवरण, दोस्रो आवधिक योजनाका लक्ष्य, तथ्यांक भण्डारण तथा मूल्यांकनका पक्षहरू समेटिएका छन् । कार्यक्रमको सहजीकरण प्रदेश योजना आयोगका सचिव खिबहादुर कुँवरले गरेका थिए ।