२०८२ चैत्र २६
बुटवल २५ चैत ।
रूपन्देही उद्योग संघले समस्यामा परेका उद्योगहरूको स्थलगत भ्रमण गर्दै उद्योगीका गुनासा र चुनौतीबारे अन्तरसंवाद सुरु गरेको छ । उद्योग क्षेत्रमा देखिएका कच्चा पदार्थको अभाव, बढ्दो मूल्यवृद्धि, निर्यातमा जटिलता, पटक–पटक विद्युत् लाइन काटिने समस्यालगायतका विषयमा संघले उद्योगीहरूसँग प्रत्यक्ष छलफल थालेको हो ।
संघले अभियानको सुरु रूपन्देहीको मैनहियामा सञ्चालित फ्रेन्च फ्राइ उत्पादक उद्योग ‘फस्ट च्वाइस फुड्स प्रा.लि.’ को अवलोकन गरेको छ । संघका पदाधिकारीहरूले उद्योगको उत्पादन प्रक्रिया, कच्चा पदार्थ आपूर्ति, निर्यात अवस्था तथा सञ्चालनमा देखिएका समस्या बारे जानकारी लिएको हो ।
संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्योग सञ्चालनमा देखिएका नीतिगत समस्याका विषयमा संघले निरन्तर पैरवी गर्दै आएको बताए । उनले नेपाल उद्योग परिसंघको सहकार्यमा समस्या समाधानका लागि संघले पहल गर्ने प्रतिबद्धता जनाउदैे उद्योगीहरूलाई आफ्नो समस्या संस्थागत रूपमा संघमा जानकारी गराउन आग्रह गरे । अधिकांश उद्योगका समस्या समान प्रकृतिका भएकाले सामूहिक रूपमा समाधान खोज्नुपर्नेमा उनले जोड पनि दिए ।
संघका महासचिव सुमन बस्यालले उद्योगीहरूको समस्या समाधानका लागि संघले अभियानकै रूपमा उद्योग भ्रमण सुरु गरेका बताए । विशेषगरी निर्यातजन्य उद्योगहरूले भोगिरहेका नीतिगत समस्या समाधानका लागि संघले संस्थागत पहल गर्ने उल्लेख गर्दै उद्योग क्षेत्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको पनि बताए ।
उद्योगका सञ्चालक कृष्ण प्रसाद पौडेलले आयात प्रतिस्थापन गर्दै निर्यातमुखी उत्पादन गर्ने लक्ष्यसहित उद्योग सञ्चालन गरिएको बताए ।
संघले आगामी दिनमा अन्य समस्यामा परेका उद्योगहरूको पनि भ्रमण गर्दै उद्योग क्षेत्रका साझा समस्या संकलन गरी समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने योगदान तय गरेको छ । उद्योग क्षेत्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक रहेको संघको निष्कर्ष रहेको छ ।