२०८३ बैशाख ६
बुटवल ३० चैत ।
बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले नया वर्ष २०८३ सगै सरकारी अस्पतालमा कायम दररेटको सेवा शुल्क लिएर सेवा दिने घोषणा गरेको छ । मुख तथा दाँत रोगको उपचार सर्वसुलभ गराउन उक्त घोषणा गरिएको प्रालिले जनाएको छ ।
समाजप्रति उत्तरदायी बन्दै सबै वर्गका लागि सेवा सहज बनाउन यस किसिमको निर्णय गरिएको प्रालिका अध्यक्ष अमृत भुसालले बताए । विगतदेखि नै सर्वसुलभ शुल्कमा दातको सेवा प्रदान गर्दै आएको दावी गर्दै प्रालिले अझ सहज बनाउन यस किसिमको निर्णय गरिएको जनाएको छ । दुई दशक अघिदेखि दाँत, मुख, गिजा उपचारमा रहेकोे प्रालिले ६६ वटा दन्त सेवा शुल्क सरकारी अस्पतालमा लागु रहेकै शुल्कमा उपलब्ध गराउने अध्यक्ष भुसालले बताए ।
सबै वर्ग, तह र समुदायका नागरिकलाई सुलभ दन्त सेवा उपलब्ध गराउन, आर्थिक अभावका कारण कोही पनि उपचारबाट वन्चित हुन नपरोस् भन्ने सुनिश्चित गर्न, गुणस्तरीय सेवा र सहज पहुच स्थापित गर्न तथा जनस्वास्थ्य सुधारमा योगदान पु¥याउन यस कार्यक्रमको घोषणा गरिएको भुसालले बताए । यस कार्यक्रमले दन्त स्वास्थ्य सेवामा सर्वसाधारणको पहुच वृद्धि हुने, समयमै उपचार गर्ने प्रवृतिको विकास हुने, दीर्घकालिन जटिलता तथा खर्चमा कमी आउने तथा समुदाय स्तरमा दन्त स्वास्थ्य सचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको अध्यक्ष भुसालको भनाइ छ ।
समग्र मुख स्वास्थ्यसम्बन्धी गुणस्तरीय सेवासँगै सचेतना अभियानमा समाज डेन्टलको योगदान महत्वपूर्ण रहेको दावी पनि भुसालले गरे । पछिल्लो ५ वर्षमा २५० भन्दा बढी सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा निःशुल्क दात, शिक्षा, परीक्षण, उपचार र परामर्श प्रदान गरेको र २५० भन्दा बढी व्यवसायिक सामाजिक, सरकारी र गैर सरकारी प्रतिष्ठानमा दन्त, शिक्षा, परीक्षण र उपचार प्रदान गरेको भुसालले बताए । उनका अनुसार विगतमा मुख स्वास्थ्य महाअभियान सञ्चालन गरिएको र त्यसबाट पहिलो चरणबाट १५ हजार ६०० भन्दा बढीलाई सेवा दिइएको छ ।
कार्यक्रम निर्देशक माधव सापकोटाले समुदाय स्तरमा दाँत स्वास्थ्य सेचतना अभिवृद्धिलाई प्रथामिकतामा राख्दै कार्यक्रमहरु सञ्चालन गर्दै आइएको बताए ।
