२०८३ बैशाख ८
रुपन्देही ७ बैशाख ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा अनुसन्धान लेखन प्रशिक्षण सम्पन्न भएको छ । क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइले सञ्चालन प्रशिक्षणमा एस्.पी.एस्.एस् सफ्टवेयर प्रयोग गरेर डेटा विश्लेषण र नतिजा लेखन सम्बन्धमा ५ दिनसम्म तालिम दिइएको थियो ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजित प्रशिक्षणमा प्राध्यापकहरूः डा. अशोक भण्डारी, कृष्णकुमार रेग्मी, नोवराज तिवारी र राजेन्द्र थापामगरले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा आयोजक क्याम्पस राममणि सहित बुटवल कालिका क्याम्पस, पशुपति कलेज, महाकवि देवकोटा क्याम्पसलगायतमा अध्यापनरत प्राध्यापक समेतले भाग लिएका थिए ।
अनुसन्धान एकाइका संयोजक डा. अशोक भण्डारीको अध्यक्षतामा आयोजित प्रशिक्षण समापन गर्दै क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले नवप्रवर्तन र अन्वेषणात्मक अभ्यासका लागि कार्यक्रम उपयोगी हुने उल्लेख गरे ।
उपप्राध्यापक कृष्णकुमार रेग्मीको सञ्चालनमा भएको कार्यक्रममा प्रशिक्षार्थीहरू साहस शर्मा घिमिरे, कविता भण्डारी, केशरचन्द्र भण्डारीलगायतले अनुसन्धानका आगामी तथ्यांक विश्लेषणका लागि आफूमा थप सीप विकाश भएको उल्लेख गरे ।
त्यसअघि वैशाख २ गते प्रशिक्षण उद्घाटन् गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले वर्षैपिच्छे अनुसन्धान पत्रिका (जर्नल) प्रकाशन हुँदै आएकोमा गतवर्ष २ वटा राष्ट्रिय सेमीनारको अनुभवले वर्ष अन्तर्राष्ट्रिय सेमीनारको योजना बनेका उल्लेख गरे ।
